• १६ साउन २०८२, शुक्रबार

खिरले बढ्छ शरीरमा ऊर्जा र रोग प्रतिरोधात्मक क्षमता

blog

  • खिर बच्चा, वृद्ध सबै उमेर समुहका मानिसलाई उपयुक्त हुने परिकार हो । 
  • चामल, दुध, घिउ, चिनी र विभिन्न किसिमका ड्राइ फ्रुट्स मिसाएर बनाइने 
  • खिरमा प्रयोग गरिने अलैंची, नरिवल र किसमिसजस्ता सामग्रीले पाचन प्रक्रियालाई सुधार्न मद्दत गर्छ ।
  • चिनी नखानेले चिनीको सट्टा खजुर, गुड, सक्खर वा महको प्रयोग गरेर खिर बनाउन सकिन्छ ।    

काठमाडौँ, साउन १५ गते । नेपाली समाजमा खिर एक परम्परागत लोकप्रिय परिकार हो । चाडपर्व, उत्सव वा शुभकार्य गर्दा प्राय नेपालीको घरमा पाक्ने परिकार हो खिर । नेपाली समाजमा साउन १५ मा खिर खाएर मनाउने चलन छ ।

नेपाल कृषिप्रधान देश भएकाले साउनमा खेती गरेर थाकेको शरीरलाई ऊर्जा प्रदान गर्न खिर खाने चलन चलाएको हुन सक्ने जानकार बताउँछन् । चामल, दुध, घिउ, चिनी र विभिन्न किसिमका ड्राइ फ्रुट्स मिसाएर बनाइने यो परिकार स्वादका लागि मात्र नभई स्वास्थ्यका दृष्टिले पनि उतिकै फाइदाजनक मानिन्छ । 

खिरका फाइदा 

पोषणविद् प्राडा. उमा कोइरालाले खिरमा चामल र दुध मिश्रित हुने भएकाले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्ने बताउनुहुन्छ । चामलमा कार्बोहाइड्रेट प्रशस्त मात्रामा पाइने हुँदा यसले दिनभर काम गर्न शक्ति प्रदान डा.कोइराला बताउनुहुन्छ ।

 दुध क्याल्सियमको उत्कृष्ट स्रोत हो । दुधले हड्डी बलियो बनाउन मद्दत गर्छ । नियमित खिर खाँदा हड्डी सम्बन्धी समस्या छुटकारा पाउन सकिन्छ । उहाँ भन्नुहुन्छ, “खिर, दुध, घिउ, चामल, गुड, वा चिनी हालेर पकाइने गरिन्छ । दुधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ र चामलमा कार्बोहाइड्रेट पाइन्छ । यसरी तयार पारिएको परिकारमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ ।” 

बर्खामा विभिन्न सङ्क्रमक रोगको जोखिम बढ्ने गर्छ । यस्तो मौसममा खिर खाँदा शरीरमा ऊर्जा र रोग प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खिर खाने चलन चलाएको हुन सक्ने डा.कोइरालाको भनाइ छ । 

 खिर बच्चा, वृद्ध सबै उमेर समुहका मानिसलाई उपयुक्त हुने परिकार हो । उहाँका अनुसार खिरले मांसपेशी हड्डीलाई बलियो बनाउन मद्दत गर्छ । बच्चालाई खुवाउँदा मांसपेशी र हड्डी बलियो बनाउन मद्दत गर्छ । बढ्दो उमेरका हड्डी, मांसपेशी पुनर्निर्माण गर्न मद्दत गर्ने उहाँले जानकारी दिनुभयो । डा. कोइरालाका अनुसार खिरमा प्रयोग गरिने अलैंची, नरिवल र किसमिसजस्ता सामग्रीले पाचन प्रक्रियालाई सुधार्न मद्दत गर्छ । नरिवलमा फाइबर हुने हुँदा कब्जियतको  समस्या कम गर्न मद्दत गर्छ । 

खिर बनाउँदा चामल, दुध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राइ फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा थप स्वादिलो र पौष्टिक तत्व प्रदान गर्ने डा. कोइराला बताउनुहुन्छ । यसरी पकाएको खानाबाट क्यालोरी, प्रोटिन, मिनरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्व प्राप्त गर्न सकिन्छ । चिनी नखानेले चिनीको सट्टा खजुर, गुड, सक्खर वा महको प्रयोग गरेर खिर बनाउन सकिन्छ ।    

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।