• ५ भदौ २०८२, बिहिबार

सहमति बिना नेपाली भूमि प्रयोग गने कुरा अमान्य : महासचिव पोखरेल

blog

बर्दीबासमा आयोजित पत्रकार सम्मेलनमा सहभागी नेकपा (एमाले)का महासचिव शंकर पोखरेल। तस्बिर–रवीन्द्र उप्रेती

रवीन्द्र उप्रेती

बर्दिवास, भदौ ५ गते। नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपालको सहमति बिना नेपाली भूभाग तेश्रो पक्षले प्रयोग गर्ने कुरा नेपालको संविधान, सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको उल्लंघन भएको बताउनुभएको छ।

प्रेस चौतारी महोत्तरीले बिहीबार बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले लिम्पियाधुरा नाकाबाट व्यापारका लागि भारत र चीनबिच हालै गरिएको दुईपक्षीय सहमति नेपालका लागि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो। 

पोखरेलले भन्नुभयो, ‘लिम्पियाधुरा नेपालको भूमि हो र नेपाली भूमिको प्रयोगको विषयमा नेपालको सहभागिता र सहमति अनिवार्य छ। तेश्रो पक्षले सहमति गरेर अघि बढ्ने कुरा उचित छैन।’

एमालेको विधान संशोधन प्रस्तावमाथिको छलफलका लागि आयोजित बैठकमा सहभागी हुन बर्दिवास आउनुभएका उहाँले दोश्रो विधान अधिवेशनलाई ऐतिहासिक बनाउने तयारी भइरहेको बताउनुभयो। 

मुलकलाई थप गति दिन संविधान संशोधन आवश्यक भए पनि राष्ट्रिय सभामा सत्ता पक्षको बलियो उपस्थिति नभएका कारण तत्काल अघि बढ्न नसकिने समस्या बारे पनि पोखरेलले जानकारी दिनुभयो।

उहाँले आगामी ५/६ महिनामा राष्ट्रिय सभाको १९ सिटका लागि हुने निर्वाचनपछि संशोधनका लागि अनुकूल परिस्थिति बन्ने विश्वास दिलाउनुभयो।