• ५ भदौ २०८२, बिहिबार

पार्टी नीतिविरुद्ध जानेलाई कारबाही हुन्छः अध्यक्ष प्रचण्ड

blog

अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’।

फडिन्द्र अधिकारी

लेखनाथ, भदौ ५ गते। नेकपा -माओवादी केन्द्र_का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी शक्तिको एउटै मोर्चा बनाउन पहल गर्ने बताउनुभएको छ। अखिल नेपाल ट्रेड युनियन महासङ्घ गण्डकी प्रदेश समितिले पोखरामा बिहीबार आयोजना गरेको वैचारिक तथा राजनीतिक प्रशिक्षणमा उहाँले समाजका लागि एउटै र बलियो एकीकृत कम्युनिस्ट पार्टी आवश्यक भएकोमा जोड दिनुभयो। 

“अब पार्टीभित्र गुट, उपगुटलाई छुट दिइँदैन। नीति, निर्णय र नियम विपरीत जाने, नेतृत्वविरुद्ध जानेलाई कारबाही हुन्छ,” उहाँले भन्नुभयो, “आफ्नै खुट्टामा बन्चरो हान्ने बाटोमा कोही पनि लाग्न हुँदैन।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अब सङ्गठन विस्तार र उत्पादन वृद्धिमा जोड दिइने उल्लेख गर्नुभयो। 

उहाँले नेता, कार्यकर्तासहित मजदुरलाई सङ्गठन विस्तार र उत्पादनमा जोडिन अनुरोध गर्नुभयो। अध्यक्ष प्रचण्डले भन्नुभयो, “गणतन्त्र र समाजवादलाई संस्थागत गर्नका लागि एउटा सङ्कल्प, प्रतिवद्धता र बलिदानबाट आएको हाम्रो उपलब्धि सुरक्षित गर्नै पर्छ। समाजवादी शक्तिलाई एउटै मोर्चा र सकेसम्म एउटै पार्टी बनाउन पहल हुन्छ।”

दसैं, तिहारपछि बस्ने केन्द्रीय समिति बैठकले सङ्गठन विस्तार र उत्पादन वृद्धिको कार्ययोजना ल्याउने उहाँको भनाइ छ। मङ्सिरपछि विकृतिविरुद्ध सडक आन्दोलन र देशका समस्या समाधानका लागि सदन दुवैतर्फबाट पहलकदमी लिने उहाँको भनाइ छ। 

अहिले देशमा आएको परिवर्तन र उपलिब्धको जग माओवादीको जनयुद्ध भएको दाबी गर्दै उहाँले जनताको घर, घरसम्म पुगेर उपलिब्धका कारण र अबका चुनौती बुझाउन नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो। आफ्नो नेतृत्वमा सामाजिक सुरक्षा कोषको थालनी भएको स्मरण गर्दै उहाँले सबै मजदुरलाई उक्त कोषमा सहभागी गराउनै पर्नेमा जोड दिनुभयो। 

अब नेपालको मजदुर आन्दोलनलाई न्यूनतम वेतन, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयन र ठेकेदारी प्रथा खारेजी जस्ता मुद्दासँग जोडेर अघि बढाउनुपर्नेमा उहाँको जोड छ। कार्यक्रम अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेश समिति अध्यक्ष रुद्र गौतमको अध्यक्षतमा भएको थियो।