गोरखापत्र अनलाइन
काठमाडौं, भदौ ५ गते । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा विहीबार कार्य सम्पादन सम्झौता भएको छ । मन्त्रालयको तर्फबाट मन्त्री भगवती न्यौपाने र सचिव रविलाल पन्थबिच सो सम्झौता भएको हो ।
कार्यक्रममा मन्त्री न्यौपानेले नीतिगत सुधार मात्र पर्याप्त नहुने उल्लेख गर्दै सो सुधारको प्रत्यक्ष प्रभाव नागरिकले तल्लो तहसम्म अनुभूत गर्न पाउन जरुरी रहेको जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘जनताको सन्तुष्टि नै वास्तविक मूल्याङ्कनको आधार हो, त्यसैले सेवा प्रवाह परिणाममुखी हुनुपर्छ ।’
मन्त्री न्यौपानेले सम्पूर्ण संरचनालाई नागरिक–केन्द्रित दृष्टिकोणमा अघि बढ्न निर्देशन दिनुभयो । मन्त्री न्यौपानेले मन्त्रालयले अघि सारेका सुधारात्मक नीति तथा कार्यक्रमलाई द्रुत कार्यान्वयन गरेर नागरिकलाई सहज, सुलभ र गुणस्तरीय सेवा दिन सम्बन्धित निकायलाई आह्वान गर्नुभयो । उहाँको अनुसार अबको प्राथमिकता शक्तिशाली प्रशासनिक संरचना, विवादरहित सरुवा प्रणाली र सेवाग्राहीमैत्री सेवा प्रवाह हुनेछ ।
सम्झौतापत्रमा हस्ताक्षर गर्दै सचिव पन्थले मन्त्री न्यौपानेले औंल्याउनुभएका चुनौती र प्राथमिकतालाई सम्बोधन गर्न ठोस कार्ययोजना तयार गरी मन्त्रालयले थप जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सचिव पन्थले सम्झौताले प्रशासनिक निकायमा परिणाममुखी काम गर्ने नयाँ संस्कार स्थापित गर्ने बनाउनुभयो । उक्त अवसरमा मन्त्रालयका सहसचिवहरुको उपस्थिति रहेको थियो ।