भैरहवा समाचारदाता
भैरहवा, भदौ ५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावित भारत भ्रमण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न आग्रह गरिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँको संयोजकत्वमा गठित सङ्घर्ष समितिले प्रधानमन्त्री ओलीलाई आसन्न भारत भ्रमण भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएर गर्न आग्रह गरेको हो । बुधबार बसेको समितिको बैठकले विमानस्थलको दिगो सञ्चालनका लागि सरकारलाई दबाब दिने उद्देश्यले प्रधानमन्त्रीलाई पत्र पठाउने निर्णय गरेको हो । अर्बौंको लगानीमा बनेको आयोजनालाई सक्रिय बनाउन प्रधानमन्त्रीले यस विमानस्थल प्रयोग गरेमा जनस्तरमा सकारात्मक सन्देश जाने समितिको धारणा छ ।
बैठकले विमानस्थल सञ्चालन सङ्घर्ष समितिमा रुपन्देहीका स्थानीय तहका प्रमुख तथा अध्यक्षलाई समावेश गर्ने, साथै प्रधानमन्त्रीसँग भेटघाट गरी ज्ञापनपत्र बुझाउन काठमाडौँ जाने निर्णय गरेको नगरप्रमुख खाँले जानकारी दिनुभयो । त्यस्तै बैठकले लुम्बिनीमा रहेका गुम्बासँग सम्बन्धित राष्ट्रका राजदूतसँग छलफल गरी विमानस्थल सञ्चालनमा सहकार्य गर्ने, साथै कार्गो सेवा सञ्चालनलाई पनि प्राथमिकतामा राख्ने निर्णय गरेको छ ।
यसअघि किसानलाई आवश्यक मलखाद, बिउबिजन र सिँचाइ सहज उपलब्ध गराउन तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित सञ्चालन गर्न माग गर्दै नागरिक सरोकार मञ्च नेपाल रुपन्देही, सिद्धार्थनगरले मङ्गलबार जिल्ला प्रशासन कार्यालय, रुपन्देहीअगाडि धर्ना दिएको थियो ।