धर्बेन्द्र झा
जनकपुरधाम, वैशाख २९ गते । अपाङ्गता भएका, अति विपन्न तथा जोखिममा रहेका समुदायको जीविकोपार्जन तथा आर्थिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मधेश प्रदेशमा 'आशा : समावेशी जीविकोपार्जन र आर्थिक सशक्तीकरण' परियोजना शुभारम्भ भएको छ ।
नेपाल सरकारसँगको समन्वय एवं अस्ट्रेलियाली एड र सिबिएमको आर्थिक तथा प्राविधिक सहयोगमा लाइफ नेपाल र अपाङ्ग समाज जनकपुरधामले सञ्चालन गर्ने सो परियोजनाको मधेश प्रदेशका सभामुख रामअशिष यादवले जनकपुरधाममा आयोजित एक कार्यक्रमबिच शुभारम्भ गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख यादवले लोकतन्त्रमा आफ्नो अधिकार सुनिश्चित गर्न आफैँ सङ्घर्षरत रहनुपर्ने बताउँदै अपाङ्गताका मुद्दा स्थापित गर्न सजग र सचेत रहन जोड दिनुभयो । "परियोजनाको नाम नै 'आशा' रहेकाले कार्यान्वयनका क्रममा लक्षित वर्ग निराश हुन नपरोस् भन्नेतर्फ सबै सचेत हुनुपर्छ," उहाँले भन्नुभयो ।
लाइफ नेपालकी कार्यक्रम संयोजक पूजा शर्माले परियोजनाका बारेमा जानकारी दिँदै पहिलो चरणमा धनुषाका मिथिला, क्षीरेश्वरनाथ, हंसपुर नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिका गरी चार वटा पालिकामा कार्यक्रम सञ्चालन हुने बताउनुभयो । सन् २०२६ अप्रिलदेखि सन् २०३० मार्चसम्म चल्ने यस परियोजनाबाट प्रत्यक्ष रूपमा तीन हजार व्यक्ति लाभान्वित हुने अपेक्षा गरिएको छ ।
परियोजनाले अपाङ्गता भएका र जोखिममा रहेका व्यक्तिको सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य र पुनःस्थापना सेवामा पहुँच बढाउने लक्ष्य राखेको छ । साथै, स्थानीय योजना तर्जुमामा समावेशी सहभागिता, बजार प्रणालीको विकास र जलवायु उत्थानशील कृषिमार्फत अपाङ्गता मैत्री खेती प्रणाली प्रवर्धन गर्ने योजना रहेको छ ।
लाइफ नेपालका अध्यक्ष सुरैत ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा सिबिएमका कन्ट्री डाइरेक्टर राजन भट्टराईले परियोजना सफल बनाउन सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सम्बन्धित पालिकाका प्रमुखहरू र लक्षित समुदायका प्रतिनिधिहरूको सहभागिता थियो ।