यदुप्रसाद भट्ट
मनाङ, वैशाख २९ गते । मनाङमा यार्चागुम्बा सङ्कलनको सिजन सुरु हुनुअघि सामुदायिक व्यवस्थापन क्षेत्र (सीएमसी) अन्तर्गतका वन तथा घाँसे मैदानमा संयुक्त गस्ती, अनुगमन तथा निरीक्षण गरिएको छ । अवैध गतिविधि नियन्त्रण गर्दै प्राकृतिक स्रोतको दिगो उपयोग सुनिश्चित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो ।
सीएमसी मनाङ र टङ्की मनाङको समन्वयमा गरिएको अनुगमनका क्रममा यार्चागुम्बा सङ्कलनअघि अनुमतिबिना गरिने अवैध गतिविधि, पासो तथा जालजस्ता सामग्रीको खोजी गरिएको छ । स्थानीय तह, वडा प्रतिनिधि, सीएमसी सदस्य, सरोकारवाला निकाय तथा स्थानीय समुदायका प्रतिनिधि सहित १० जनाको सहभागितामा दुई टोली गठन गरी अनुगमन गरिएको थियो ।
पहिलो टोलीले ल्हाकाङ र खुलीस क्षेत्रका वन तथा घाँसे मैदानको निरीक्षण गरेको थियो भने दोस्रो टोलीले छोङ्कोर र थामराङ क्षेत्रको अनुगमन गरेको थियो । गस्तीका क्रममा वन तथा चरन क्षेत्रको अवस्थाबारे जानकारी लिँदै सम्भावित अवैध गतिविधि रोकथाममा विशेष ध्यान दिइएको सहभागीहरूले बताएका छन् ।
यस अनुगमनले यार्चागुम्बा सङ्कलनलाई व्यवस्थित, सुरक्षित र कानुनी दायराभित्र सञ्चालन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । साथै, स्थानीय जैविक विविधता संरक्षण र वन्यजन्तुको सुरक्षामा समेत यस प्रकारका गतिविधिले सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
स्थानीय समुदायको सक्रिय सहभागितामा सञ्चालित गस्तीले संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै प्राकृतिक स्रोतको जिम्मेवार उपयोगमा सहयोग पुर्याएको सरोकारवालाहरूले बताएका छन् । आगामी दिनमा पनि यस्ता संयुक्त अनुगमन तथा निगरानी कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ । मनाङ क्षेत्रमा प्रत्येक वर्ष यार्चागुम्बा सङ्कलन सुरु हुनुअघि स्थानीय तह तथा संरक्षणसँग सम्बन्धित निकायले संयुक्त रूपमा अनुगमन गर्ने परम्परा रहिआएको छ । यसले अवैध सङ्कलन तथा वन विनाश नियन्त्रण गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको स्थानीयवासीको भनाइ छ ।