रामकृष्ण बोहरा
बागलुङ, वैशाख २९ गते । धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरि आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो ।
धौलागिरि प्रादेशिक अस्पतालको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत सोमबार आयोजित मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविरमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाका गरी ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ ।
विभिन्न समयमा बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लामा गरिएको स्क्रिनिङ शिविरमा शल्यक्रिया गर्नुपर्ने बिरामीको लगत सङ्कलन गरी धौलागिरि अस्पतालमा शल्यक्रिया गरिएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. किरण तिवारीले जानकारी दिनुभयो ।
शिविरमा हिमालयन आँखा अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा. नारायणी भट्टराई रोकाको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि बिरामीको अवस्था सामान्य रहेको अस्पतालका कन्सल्टेन्ट अप्थाल्मोलोजिस्ट डा. कुशल गुरुङले जानकारी दिनुभयो । निःशुल्क शल्यक्रिया सेवा पाउँदा सेवाग्राही हर्षित बनेको डा. गुरुङले बताउनुभयो ।
डा. गुरुङका अनुसार गाउँमा गरिएको शिविरमा बिरामीहरूमा विभिन्न प्रकारका आँखा रोग तथा विकार फेला परेका थिए । दृष्टि दोष भएका बिरामीलाई चस्मा र सामान्य बिरामीलाई औषधी वितरण गरिएको थियो । यस्तै, छड्के र डेढो–बाङ्गो आँखा, जलविन्दु र पर्दासम्बन्धी, आँखाको एलर्जी र सुख्खा आँखा भएका बिरामी भेटिएका थिए ।