तेहरान, वैशाख २९ गते । इरानमाथि फेरि आक्रमण भएमा युरेनियमलाई ९० प्रतिशत शुद्धतामा प्रशोधन गर्नेतर्फ कदम चाल्नुको विकल्प नहुने इरानी अधिकारीले बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन र तेहरानबिचको युद्धविरामलाई ‘व्यापक जीवनको क्षति हुनबाट जोगाउने’ कदम बताएपछि इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले उक्त टिप्पणी गर्नुभएको हो । “अर्को आक्रमण भएको खण्डमा इरानको विकल्प मध्ये एक ९० प्रतिशत (युरेनियम) संवर्धन हुन सक्छ । हामी संसदमा यसको समीक्षा गर्ने छौँ,” रेजाईले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।
इरानको आणविक ऊर्जा सङ्गठनका प्रमुख मोहम्मद इस्लामीले सोमबार देशको आणविक प्रविधि र युरेनियम संवर्धनमा कुनै सम्झौता गर्न नसकिने बताउनुभएको थियो । फेब्रुअरी २८ मा तेहरान र अन्य इरानी शहरमा अमेरिका-इजरायलको संयुक्त आक्रमणबाट सुरु भएको ४० दिनको लडाइँपछि इरान, संयुक्त राज्य अमेरिका र इजरायलले अप्रिल ८ देखि युद्धविराम घोषणा गरेका छन् ।
युद्धविरामपछि इरानी र अमेरिकी प्रतिनिधिमण्डलले अप्रिल ११ र १२ मा पाकिस्तानको राजधानी इस्लामावादमा एक चरणको शान्ति वार्ता गरेका थिए, तर त्यसमा सहमति हुन सकेन । विगतमा दुई पक्षले पाकिस्तानको मध्यस्थतामा द्वन्द्व अन्त्य गर्नका लागि सर्त प्रस्तुत गर्दै धेरै प्रस्तावित योजना आदानप्रदान गरेका छन् । अमेरिकी राष्ट्रपतिले युद्ध अन्त्य गर्न प्रस्ताव गरेको पछिल्लो सन्देशमा इरानले आइतबार प्रतिक्रिया दिएको थियो र ट्रम्पले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भन्नुभएको थियो । रासस/सिन्ह्वा