• २९ वैशाख २०८३, मङ्गलबार

सुकुमवासी परिवारलाई झुल वितरण

blog

होल्डिङ सेन्टरमा आश्रित परिवारलाई झुल वितरण गर्दै नगरपालिका टोली । तस्बिरः गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, वैशाख २९ गते । कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई झुल वितरण गरेको छ । 

अत्यधिक गर्मी र लामखुट्टेको समस्या बढेपछि नगरपालिकाले झुल वितरण गरेको जनाएको छ । कोहलपुर–११ स्थित क्रिकेट मैदान आसपासको अतिक्रमित क्षेत्र खाली गराइएपछि विस्थापित बनेका परिवार अहिले नगरपालिकाले व्यवस्थापन गरेको नयाँ बसपार्कको टर्मिनल भवनको होल्डिङ सेन्टरमा बसिरहेका छन् ।  

होल्डिङ सेन्टरमा अस्थायी रूपमा राखिएका भूमिहीन सुकुमवासी तथा भूमिहीन दलित परिवारलाई रातिको समयमा लामखुट्टेको टोकाइबाट बचाउन राहतस्वरूप झुल वितरण गरिएको कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताउनुभयो । होल्डिङ सेन्टरभित्र बालबालिका तथा ज्येष्ठ नागरिकहरूले झुल नहुँदा लामखुट्टेले सुत्नै नदिने र डेङ्गु सर्ने जोखिम रहेकाले झुल वितरण गरिएको उहाँले बताउनुभयो । 

“झुल नहुँदा रातभरि लामखुट्टेले सुत्नै नदिने र डेङ्गु सर्ने जोखिम देखियो । यसलाई मध्यनजर गरेर यहाँ रहेका परिवालाई विभिन्न रोगबाट जोगाउनका लागि झुल वितरण गरेका छौँ” उहाँले भन्नुभयो । आगामी दिनहरूमा थप केही समस्या भए नगरपालिकाले व्यवस्थापन गर्ने उहाँले उल्लेख गर्नुभयो । 

उहाँका अनुसार मङ्गलबार होल्डिङ सेन्टरमा बसेका ६९ परिवारलाई झुल वितरण गरिएको छ । नगरपालिकाले वडा २ देखि १४ सम्म विभिन्न स्थानमा १६ वटा होल्डिङ सेन्टर सञ्चालन गरेको जनाएको छ । विस्थापित परिवारलाई अस्थायी बसोवास, खानेपानी तथा शौचालयको व्यवस्था सबै मिलाइएको नगरपालिकाले जनाएको छ । 

कोहलपुर नगरपालिकाले वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोवासीको तथ्याङ्क सङ्कलन कार्य पनि सँगसँगै अघि बढाइएको जनाएको छ । नगर प्रमुख पूर्णप्रसाद आचार्यले वास्तविक सुकुमवासीलाई व्यवस्थित बसोवासको व्यवस्था गरिने र सार्वजनिक जग्गा अतिक्रमण हुन नदिने नीति अनुसार काम भइरहेको बताउनुभयो । नगरपालिकाले केही दिनमा वास्तविक सुकुमवासीको पहिचान गरेर चाँडै व्यवस्थापन गर्ने उहाँको भनाइ छ । 

हाल क्रिकेट मैदान आसपासबाट हटाइएका अधिकांश परिवार विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका छन्, केही परिवार आफन्त तथा भाडाका घरमा सरेका छन् । उक्त स्थानबाट नागरिकहरू आफ्ना सरसामानसहित घर टहरा छाडेर बाहिरिएपछि शनिबार र आइतबार गरी त्यहाँका १४८ घर टहरा नगरपालिकाको डोजरमार्फत भत्काइएको थियो ।