इस्लामावाद, वैशाख २९ गते । पाकिस्तानी नूर खान एयरबेसमा सैन्य उद्देश्यका लागि इरानी विमान उपस्थित भएको भनी विभिन्न सञ्चार माध्यममा आएको समाचारको पाकिस्तानले मङ्गलबार खण्डन गरेको छ ।
इरान र अमेरिकी विमान युद्धविरामपछि र इस्लामाबाद वार्ताको प्रारम्भिक चरणका क्रममा कूटनीतिक कर्मचारी, सुरक्षा टोली र वार्ता प्रक्रियासँग सम्बन्धित प्रशासनिक कर्मचारीलाई ओसारपसार गर्न पाकिस्तान आइपुगेको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । वक्तव्यमा भनिएको छ, “केही विमान र सहयोगी अस्थायीरूपमा पाकिस्तानमा रहेका छन् । तर ती कुटनीतिक उद्देश्यका साथ त्यहाँ आइपुगेका थिए ।”
विदेश कार्यालयले आगाडि भनेको छ, “औपचारिक वार्तामा रोकिए पनि युद्धरत पक्षबिच कूटनीतिक आदान-प्रदान जारी छ र नूर खान एयरबेसमा रहेका कतिपय विमान र सहयोगी इरानी विदेश मन्त्रीको भ्रमणका क्रममा रणनीतिक व्यवस्थामा सहजीकरणका लागि तैनाथ गरिएको हो ।” पाकिस्तानले उक्त विमान कुनै पनि सैन्य आकस्मिकता वा संरक्षण व्यवस्थासँग जोडिएको भन्ने भनाइलाई कडारूपमा अस्वीकार गरेको छ र यस्तो दाबी काल्पनिक र तथ्यबाट अलग रहेको बताएको छ । इस्लामावादले वार्ता, तनाव न्यूनीकरण, क्षेत्रीय शान्ति र स्थिरतालाई समर्थन गर्ने पाकिस्तानी प्रतिबद्धतालाई दोहोर्याएको छ । रासस/सिन्ह्वा