काठमाडौँ, वैशाख २९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौँमा आज दुई छुट्टाछुट्टै भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस नक्टाझिज, धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध ४० हजार रुपियाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ।
कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्ड अन्तर्गत माटो तथा ग्राभेल फिलिङ्ग कार्यमा प्रयोग हुने सवारी साधनहरू रोक्ने तथा फिल्डमा माटो र ग्राभेल झार्न नदिई विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरेको पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले अधिकारीलाई ४० हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो। निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो बमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।
सरकारी साक्षीविरुद्ध मुद्दा
अख्तियारले सरकारी साक्षी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध पनि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
प्रतिवादी चन्द्रबहादुर अधिकारीसमेत भएको घुस मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै भ्रष्टाचार निवारण ऐनको दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई पुडासैनीलाई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो।
तर, पुडासैनीले विशेष अदालतमा बकपत्र गर्दा आयोगमा गरेको बयान र आरोप मागदाबीको प्रतिकुल हुने गरी बयान दिएको पुष्टि भएको छ।
चन्द्रबहादुर अधिकारीले लिएको घुसबापतको रकमको चेक सुमित्रा कस्मेटिक एन्ड फेन्सीको नाममा काटिएको र उक्त चेक सटहीका लागि बैँकसम्म गएको देखिएकाले उनले भ्रष्टाचारमा मद्दत गरेको आयोगको ठहर छ।
जिल्ला गोरखा, बारपाक सुलिकोट गाउँपालिका–७ स्थायी वतन भई हाल चन्द्रागिरी नगरपालिका–५ बस्ने पुडासैनीलाई ५० लाख रुपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र बिगो बमोजिम जरिवाना माग गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।