• २९ वैशाख २०८३, मङ्गलबार

पाकिस्तानमा तीन महिनामा ३७० जनाभन्दा बढी अफगान नागरिक मारिए : राष्ट्रसङ्घ

blog

काबुल, वैशाख २९ गते । चालु वर्षको पहिलो तीन महिनामा सरकारी सेना र पाकिस्तानबिचको द्वन्द्वमा कम्तिमा ३७२ जना अफगान नागरिक मारिएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि इस्लामाबाद र काबुलबिचको सम्बन्ध बिग्रिएको जनाइएको छ भने गत फेब्रुअरीमा पाकिस्तानका रक्षामन्त्रीले खुला युद्धको घोषणा गर्नु भएको थियो । 

इस्लामावादले अफगान तालिबान सरकारलाई आतङ्ककारीलाई आश्रय दिएको आरोप लगाएको छ । अफगान अधिकारीले पाकिस्तानले शत्रु समूहलाई शरण दिएको र आफ्नो सार्वभौमसत्तालाई सम्मान नगरेको आरोपलाई अस्वीकार गरेका छन् । अफगानिस्तानमा संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए)ले सन् २०२६ जनवरी-१ र मार्च  ३१ को बिचमा, अफगानिस्तानको सुरक्षा बल र पाकिस्तानी सैन्य बलबिच भएको सीमापार सशस्त्र हिंसामा ३७२ जना नागरिकको मृत्यु हुनुका साथै ३९७ घाइते भएको जनाएको छ ।

रिपोर्टको लिखित जवाफमा इस्लामाबादले यस वर्षको सुरु देखि १३० जना पाकिस्तानी नागरिक र सुरक्षाकर्मी मारिएको बताएको छ । पाकिस्तानको विदेश मन्त्रालयले इस्लामाबादका लागि काबुलका शीर्ष दूतलाई बोलाएर सप्ताहन्तमा १५ जनाको ज्यान गएको बताएको थियो जसमा अधिकांश प्रहरी अधिकारी थिए ।

अफगानिस्तान र पाकिस्तानबिच लामो समयदेखि चलिरहेको सीमापार झडप गत वर्षको अक्टोबरमा झनै चर्किएको थियो, जसमा दर्जनौँको मृत्यु भएको थियो । पछिल्लो तीन महिनाको आँकडा सन् २०११ देखि युएनएएमएद्वारा रेकर्ड गरिएको अवधिको सङ्ख्यामा सबै भन्दा बढी हो । रिपोर्टका अनुसार जनवरी १ देखि मार्च ३१ सम्म अफगानिस्तानमा १३ महिला, ४६ बालबालिका र ३१३ पुरुष मारिएका थिए ।

हताहतको प्रमुख कारण हवाई आक्रमण भएको भन्दै राष्ट्रसङ्घले अन्य हाताहात सीमापार गोलीबारीबाट भएको उल्लेख गर्दै एक जना अधिकार कर्मीकोसमेत मृत्यु भएको जनाएको छ । तालिबान सरकारले उक्त घटनामा ४०० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको जनाएको छ । प्रतिवेदनमा समावेश गरिएको लिखित प्रतिक्रियामा पाकिस्तानले अस्पताल, लागुऔषध पुनः स्थापना केन्द्र वा नागरिक सुविधालाई लक्षित नगरि कारबाही आतङ्कवादी र सैन्य पूर्वाधारविरुद्ध मात्र निर्देशित भएको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको मिसनले अफगान अधिकारीलाई अस्पतालका भएको आक्रमणमा बेपत्ता भएका व्यक्तिको रेकर्ड सङ्कलन गर्न र उनीहरूका आफन्तलाई खोजीमा सहयोग गर्न आग्रह गरेको छ । युएनएएमएले लडाकु पक्षलाई स्वास्थ्य सुविधालाई लक्षित गर्न आवासिय क्षेत्रमा विस्पोट गर्नबाट टाढा रहि अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न आह्वान गरेको छ । बेइजिङका अनुसार अप्रिलको सुरुमा चिनमा भएको वार्तापछि पाकिस्तान र अफगानिस्तानले तनावबाट बच्न प्रतिबद्ध भएका छन् । रासस/एएफपी