काठमाडौँ, साउन ८ गते । गर्मी मौसममा शरीरलाई चिसो र स्वस्थ राख्न खानेकुरामा विशेष ध्यान दिन चिकित्सकको सुझाव छ ।जनस्वास्थ्य विज्ञ डा.अरुणा उप्रेतीले अत्यधिक गर्मीको कारणले शरीरमा पानीको मात्रf घट्नुका साथै फुड पोइजन, झाडापखाला लगायतका पेटसँग सम्बन्धित स्वास्थ्य समस्या निम्तिने हुँदा खानेकुरामा विशेष ध्यान दिन आग्रह गर्नुभएको हो ।
गर्मी मौसममा स्वास्थ्यमा समस्या हुन नदिन प्रशस्त पोषिलो हुने झोलिलो पेय पदार्थ पिउन उहाँको आग्रह छ । यो मौसममा झाडापखाला, फुड पोइजन, झाडापखाला लगायतका पेटसँग सम्बन्धित स्वास्थ्य समस्या निम्तने हुँदा बाँसी र झिँगा भन्केका खानेकुरा नखान उहाँले अनुरोध गर्नुभयो ।
उहाँका अनुसार गर्मीमा खानेकुराका साथै पेय प्रदार्थमा ध्यान दिन जरुरत हुन्छ । गर्मीमा शरीरबाट अत्यधिक पसिना बग्ने हुँदा पानीको परिपूर्ति भएन भने बेहोस हुने सम्भावना बढी हुन्छ ।
यो मौसममा तराईमा अत्यधिक गर्मीको कारणले लु लाग्ने सम्भावना बढ्ने हुँदा शरीरमा पानीको परिपूर्ति गर्न मौसमी फलफूल, कागती हालेको चिया, पानी, पुदिना पानी पिउन उहाँको अनुरोध छ ।
त्यसका अलावा यो मौसममा काँक्रो, दही, मही, नरिवल पानी, सत्तु, ओट्स, लस्सी जस्ता खानेकुरा खान उहाँको सुझाव छ । गर्मीमा कोक, फेन्टा लगायतका बट्टामा राखेको चिसो पेय पदार्थ नखान उहाँको आग्रह छ । यस्तो खानेकुरामा अत्यधिक गुलियो पदार्थ हुने हुँदा स्वास्थ्यमा नकारात्मक असर पुग्ने गर्छ ।
यसको सट्टा घरमा सजिलै पाइने दही मही उपयुक्त हुन्छ । फलफूलको जुस बनाएर जुसमा नुनमा हालेर बच्चालाई दिएमा निकै फाइदा पुग्ने उहाँको भनाइ छ । उहाँका अनुसार मौसमी फलफूल खाँदा पौष्टिकतासँगै भिटामिन प्रशस्तमात्रामा पाइने हुँदा शारीरिक तथा मानसिक रूपमा स्वस्थ भइन्छ ।
गर्मी मौसममा कस्ता खानेकुरा उपयुक्त हुन्छन् भन्ने विषयमा केन्द्रित भई जनस्वास्थ्यविद् डा.अरुणा उप्रेतीसँग गरिएका भिडियो संवाद
भिडियोः मनोरत्न शाही र केशब गुरुङ