• २८ असार २०८२, शनिबार

४० लाख चिनिया खाेप सिनोभ्याक नष्ट गरिने

blog

काठमाडौँ, असार २६ गते । चीन सरकारबाट अनुदानमा आएको सिनोभ्याक खोप नष्ट गर्ने विधि पत्ता लागेको छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा दयाकृष्ण पन्तले म्याद गुज्रिएको खोप इन्सुलेटर विधिबाट नष्ट गर्ने निर्णय गरेको जानकारी दिनुभयो । 

अहिलेसम्म कुन विधिबाट खोप नष्ट गर्ने विषयमा अन्योल भएकोले खोप नष्ट गर्न नसकेको पन्तको भनाइ छ ।  उहाँ भन्नुहुन्छ,“सिनोभ्याक खोप अहिलेसम्म कुन विधिबाट नष्ट गर्ने भनेर अन्योलमा थियौँ । अहिले नष्ट गर्ने विधि पत्ता लगाएका छौँ ।”  काठमाडौँमा  विधि इन्सुलेटर मात्र एक खोप नष्ट गर्ने विधि भएकाले यही विधि रोजेको उहाँ बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “विभिन्न सङ्घ संस्थाले खोप नष्ट गर्छ कि भनेर प्रस्ताव राखेका थियौँ । कहीँबाट पनि सहयोग पाएनौँ, सिमेन्ट फ्याक्ट्रीले खोप नष्ट गर्न नमानेपछि इन्सुलेटर विधि छानेका हौँ ।” नष्ट गर्न इन्सुलेटर कम्पनीले केजीको ६०÷७० रुपियाँ केजी लाग्ने बताउँदै आएको उहाँले  जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा नष्ट गर्नुपर्ने करिब ३५ टन खोप भएको अनुमान गरिएको छ । 

उहाँले आर्थिक वर्ष २०८२-८३ मा उक्त खोप नष्ट गर्ने योजना बनाएको बताउनुभयो ।  खोप नष्ट गरिदिन बजेट व्यवस्थापनको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न सङ्घ संस्थालाई प्रस्ताव गरेको व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजंग रायमाझीले जानकारी दिनुभयो । उहाँ भन्नुहुन्छ, “इन्सुलेटरबाट खोप नष्ट गर्न २५ लाख लाग्ने बताएको छ । यसका लागि मन्त्रालयले बजेट व्यवस्थापन गर्ने भएको छ । अन्य सङ्घ संस्थासँग पनि सहयोगका लागि प्रस्ताव गरेका छौँ ।”

चीन सरकारको अनुदानमा वि स २०७८ चैत १२ मा ३५ लाख र चैत १४ मा पाँच लाख गरी ४० लाख मात्रा खोप नेपाल भित्रिएको थियो । उत्पादित मितिदेखि दुई वर्षभित्र खोप लगाइसक्नुपर्ने थियो । खोप लगाउने कोही पनि नभएकोले २०८० पुसको दोस्रो सातादेखि खोपको म्याद सकिए पनि नष्ट गर्न सकेको थिएन । 

 खोप बाँकी रहनुको कारण 

सिनोभ्याक खोप नेपालमा ल्याउँदा अधिकांश नेपालीले कोभिडविरुद्धको पहिलो र दोस्रो खोप लगाइसकेका थिए । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले यो खोप दोस्रो डोज तथा बुस्टर डोजको रूपमा प्रयोग गर्न नमिल्ने सुझाव दिएको थियो । 

उक्त सल्लाह अनुसार राष्ट्रिय खोप सल्लाहकार समितिले म्याद नजाँदै खोप अन्य देशलाई पठाउन वा चीन फिर्ता गर्न दुई वर्षअघि नै निर्णय गरेको थियो।

कोरोनाविरुद्धको खोप नलगाएका विभिन्न देशमा खोप लगाउन पठाउने पत्र पठाउँदा र स्वयं खोप उत्पादक कम्पनीले उक्त खोप लैजाने इच्छा नदेखाएको यो खोप चार वर्षदेखि टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको थियो । 

कसरी गर्ने खोप नष्ट 

इन्सुलेटरको विधिबाट उच्च तापक्रममा राखेर खोपलाई नष्ट गरिन्छ । विभागअन्तर्गतकै वातावरणीय स्वास्थ्य एवं स्वास्थ्यजन्य फोहर व्यवस्थापन शाखासँग समन्वय गरी खोप नष्ट गरिने पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार खोप नष्ट गर्दा सुरक्षा निकायसँगको सहभागितामा मुचुल्का उठाई माइन्युट गरेपछि मात्रै नष्ट गर्न मिल्ने प्रावधान छ। उक्त खोप काठमाडौँकै कुनै एक ठाउँमा नष्ट गर्ने तयारी गरेको उहाँको भनाइ छ । 

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।