• ४ जेठ २०८१, शुक्रबार

चक्रघट्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जसपा विजयी

blog

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादव प्रमाणपत्र ग्रहण गर्दै ।

जनार्जन खत्री
सर्लाही, जेठ ६ गते ।
सर्लाहीको चक्रघट्टा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

अध्यक्षमा जसपाका कृष्णकुमार यादव पाँच हजार ९१५ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका रामजी साह तेलीले तीन हजार ५२१ मत ल्याउनुभएको छ ।

गाउँपालिकाको निवर्तमान अध्यक्षसमेत रहनुभएका माओवादी केन्द्रका विक्रम यादवले दुई हजार १४४ मत मात्रै ल्याउनुभएको छ । अध्यक्षमा पराजित माओवादीका यादव पूर्वमन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का सङ्घीय सांसद रामेश्वर राय यादवका छोरा हुनुहुन्छ । 

यस्तै, गाउँपालिकाको उपाध्यक्षमा पनि जसपाकै मिनादेवी रायले पाँच हजार ८१५ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसकी विमल जयसवालले तीन हजार २०३ र माओवादी केन्द्रकी सजरा खातुनले एक हजार ८६९ मत प्राप्त गर्नुभएको छ । 

चक्रघट्टासहित जसपाले सर्लाहीमा अहिलेसम्म दुईवटा पालिकामा मात्रै चुनाव जितेको छ । उसले यसअघि बसबरिया गाउँपालिकामा विजयी प्राप्त गरेको थियो ।

सर्लाही जसपाका नेता एवं हाल सङ्घीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्र राय यादवको गृह जिल्ला हो ।