नेत्र शाही
जुम्ला, मंसिर ७ गते । कर्णाली प्रदेस रकारका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको आगामी विकासको योजना निर्माणका लागि आफू जिल्ला यात्रामा रहेको बताउनुभएको छ ।
उहाँले जुम्लामा नेपाल पत्रकार महासंघ शाखा जुम्लाले आयोजना गरेको पत्रकार भेटघाटमा आगामी विकास योजना निर्माणका लागि आफु अहिले कर्णालीका सुर्खेत वाहिरका जिल्लामा भ्रमणमा रहेको बताउनुभयो ।
उहाँले कर्णाली सम्भावनाको क्षेत्र भएकाले अव आगामी योजना निर्माणलाई राम्रो बनाउन सुझाव संकलन गरिरहेको जानकारी दिनुभयो । उहाँले साविक कर्णालीको कालिकोट, मुगु, जुम्लामा भ्रमणमा रहेको बताउँदै भइरहेका कामहरु अवलोकन गर्ने सुझाव संकलन गर्ने बताउनुभयो ।
पत्रकार भेटघाटमा मुख्यमन्त्री कँडेलले यहाँका जनप्रतिनिधि, कर्मचारी र पत्रकारसँग भेटघाट गरेर सुझाव लिइरहेको र उहाँहरुसँग संघ, प्रदेश र स्थानीय तहको विकास निर्माणको सन्दर्भमा छलफल गर्दै आइरहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार कर्णाली समग्र विकाका लागि राजनैतिक दलले समेत एकजुट भएर लाग्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जुम्ला त अझ सम्भावनाको जिल्ला हो, यहाँको स्याउको सम्भावना बिषयमा कृषकसँग पनि छलफल कार्यक्रम राखिएको छ ।”
भेटघाटमा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले कर्णालीमा आम सञ्चार विधेयक चाँडै टुङ्ग्याएर कानुन बनाउन अनुरोध गर्नुभयो । उहाँले कर्णालीका पत्रकारलाई क्षमता अभिबृद्धि तालिम लोकल्याणकारी विज्ञापन वितरण आर्थिक मसान्तमा नभइ शुरुमै व्यवस्था गर्न आग्रह गर्नुभयो ।