हरिप्रसाद कोइराला
उर्लाबारी, जेठ २७ गते । धिमाल समुदायबाट चिकित्सक बन्नु भएको डा.सजना धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने भएको छ । धिमाल जातिय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएको धिमाल युवा प्रतिभा पुरस्कार डा. सजनालाई प्रदान गरिने भएको हो ।
धिमाल युवा प्रतिभा पुरस्कार छनोट समितिको धिमाल परियोजना स्थल, मोरङको मङ्गलबारेमा सोमबार बसेको बैठकले धिमाल जाति कै पहिलो एमबिबिएस डा. सजनालाई सम्मान गर्ने निर्णय गरेको हो ।
पुरस्कार छनोट समितिका संयोजक अजितकुमार धिमालले दमक–२, खरखरे निवासी सजनाले गण्डकी मेडिकल कलेज, पोखराबाट ब्याचलर अफ मेडिसिन एन्ड ब्याचलर अफ सर्जरी (एमबिबिएस) उत्तीर्ण गर्नुभएको बताउनुभयो । मोरङ, झापा र सुनसरीमा बसोवास गर्ने धिमाल समुदायबाट एमबिबिएस उत्तीर्ण गर्ने पहिलो डाक्टर बन्नुभएकाले सम्मान गर्ने निर्णय गरिएको धिमालको भनाइ छ ।
हरेक वर्ष असार २ गते जातिरी/सिरिजात पर्व समापनको अवसरमा आयोजित कार्यक्रमको अवसरमा यो पुरस्कारबाट एक जना युवा प्रतिभालाई सम्मान गरिँदै आएको जानकारी संयोजक धिमालले दिनुभयो । सम्मानित व्यक्तित्वलाई नगद पाँच हजार रुपियाँ, प्रमाणपत्र र आल्गी धावा ओढाई सम्मान गर्ने गरिने छ । यसअघि बडी बिल्डर विकास धिमाल, गायिका मेचु धिमाल, बडी बिल्डर ललित धिमाल, फुटबलर रजिन धिमाल, तेक्वान्दो खेलाडी दिपेन धिमाल, गायक राजेश धिमाल, नृत्यङ्गना सरस्वती धिमाललाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।