गंगाकुमारी मिजार
रसुवा, पुस १२ गते । गत असार २४ गते आएको बाढीले क्षतिग्रस्त बनाएको गोसाइँकुण्ड गाउँपालिका –२ रसुवागढीस्थित मितेरी पुलको पुनर्निर्माण सम्पन्र भएसँगै नेपाल–चीन सीमावर्ती रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने भएको छ ।
चिनियाँ पक्षले आज सार्वजनिक गरेको सूचनाअनुसार भोलि आइतबारदेखि नाका औपचारिक रुपमा खुला हुने जनाइएको छ । प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार भोलिदेखि सीमापार ढुवानीमा संलग्न नेपाली सवारी चालकहरु मात्र चीनतर्फ प्रवेश गर्न पाउने छन् ।
चीन प्रवेशका लागि निवेदन दिएका सवारी चालकलाई भोलि प्रवेश अनुमति दिइने सूचना चिनियाँ पक्षबाट प्राप्त भएको छ । आगामी जनवरी १, २०२६ देखि भने एकतर्फी पालैपालो प्रणालीमा सवारी आवागमन सञ्चालन हुनेछ ।
पन्थीका अनुसार जनवरी १ देखि मालवाहक सवारी साधन र व्यापारीलाई पनि नाकाबाट आवागमनको अनुमति दिइनेछ । नाका खुले पनि तत्काल सबै प्रकारका सवारी साधन सञ्चालन हुने भने छैन ।
चिनियाँ पक्षले जारी गरेको सूचनामा भोलिदेखि सीमापार ढुवानीमा संलग्न यात्रुहरुलाई प्रवेश दिन सुरु गरिने उल्लेख छ । साथै, सबै विदेशी व्यापारिक प्रतिष्ठानहरुले समयमै सम्बन्धित निकायलाई जानकारी गराउनुपर्ने र नेपाल चालक तथा कर्मचारीहरुले प्रवेशअघि नै आवश्यक तयारी, सवारी साधन लोड तथा कागजी प्रक्रिया पूरा गर्नुपर्ने जनाइएको छ ।
आगमी जनवरी १ देखि भन्सार कार्यालयले भित्रिने र बाहिरिने सवारी साधनको निरीक्षणपछि मात्र आवागमनको अनुमति दिनेछ । यस अविधिमा एकतर्फी पालैपालो आवागमन प्रणाली कडाइका साथ लागू गरिने चिनियाँ पक्षको भनाइ छ ।
यसैबिच, जी–२१६ सीमा क्षेत्रमा सडक कालोपत्रेको काम जारी रहेकाले जनवरी १ देखि जनवरी ८ सम्म आधा मार्ग मात्र सीमापार आवागमनका लागि प्रयोग गरिनेछ । सो अवधिमा चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो २ बनेसम्म आवागमन खुला रहने छ भने बाकीँ समयमा दुवै तर्फबाट सवारी आवगमन नियन्त्रण गरिनेछ ।
जनवरी ८ पछि भने चिनियाँ समयअनुसार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म (सामान्य भन्सार समयभन्दा एक घण्टा बढी) सवारी साधन प्रवेशका लागि खुला रहने छ । साथै, दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म अस्थायी रुपमा आवागमन सञ्चालन गरिने छ ।