• १३ पुस २०८२, आइतबार

कावासोतीमा १६ हप्ते कृषक पाठशाला

blog

कृषक पाठशालामा स्थानीय किसानहरु ।

ज्ञानु पंगेनी

मध्यविन्दु, पुस १३ गते । राष्ट्रिय कृषि आधुनिकीकारण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेको छ । 

जस अन्तर्गत अहिले यहाँका किसानले व्यावहारिक रूपमै अभ्यासको काम गरिरहेका छन् । कावासोती –१६ का २६ जना किसान (आइपिएम) कृषक पाठशालामा आबद्ध भएर काम गरिरहेका छन् । 

१६ हप्तासम्म सञ्चालन हुने यस पाठशाला अन्तर्गत प्रयोगात्मक अभ्यासका लागि (तीन कठ्ठा) जग्गामा परम्परागत तरिका र आइपिएम दुवै तरिकाबाट तरकारी रोपिएको छ । यहाँ मुख्य अभ्यास काउलीमा गरिएको छ । बन्दा, टमाटर, खुर्सानी लगायतका तरकारीमा पनि अभ्यास गरिएको छ । 

तालिममा आइपिएम सहजकर्ता सृजना कँडेलले आइपिएम प्रविधिको महत्व, प्रयोग विधि तथा यसबाट हुने फाइदाबारे विषेश कक्षा सञ्चालन र व्यावहारिक रूपमै फिल्डमै काम गरेर जानकारी प्रदान गर्नुभएको छ । रासायनिक विषादीको अत्यधिक प्रयोगले मानव स्वास्थ्य, माटो र वातावरणमा पार्ने नकारात्मक असरबारे सचेत गराउँदै यस विधिमा जैविक तथा प्राकृतिक विधिबाट कीरा नियन्त्रण गर्ने उपायहरू सिकाउने र रोप्ने तरिका तथा मलजलको प्रयोग विधि लगायतका बारेमा जानकारी गराउनुभएको छ । 

अहिले पाठशालामा आबद्ध भएका किसानहरूले (पौरखी आइपिएम कृषक समूह ) गठन गरी काम गरिहरेका छन् । समूहका अध्यक्ष रामकृष्ण अधिकारीले आइपिएमसम्बन्धी पाठशालामा सहभागी भएपछि व्याड बनाउने, त्यसलाई जोगाउने, हुर्काउने र कसरी रोपाईं गर्ने भन्ने कुराहरु सिकेको बताउनुभयो । 

परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख तथा वरिष्ठ कृषि अधिकृत डा. देवराज अधिकारीका अनुसार कार्यालयले पाठशालाकै रुपमा पहिलो पटक कार्यक्रम सञ्चालन गरेको छ । विषेशगरी तरकारीलाई केन्द्रित गरेर आइपिएम पाठशाला सञ्चालन गरिएको उहाँले बताउनुभयो । जसका लागि एक लाख ८२ हजार रुपिँया बजेट विनियोजन गरिएको उहाँले जानकारी दिनुभयो ।