• २८ जेठ २०८२, बुधबार

लार्चामा बेलिबिज्र तयार

blog

भोटेकोशी गाउँपालिकास्थित भोटेकोशी नदीले बगाएको लार्चा पुलमा जडान गरिएको बेलिबिज्र ।

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, जेठ २७ गते ।  गत असोज ११ र १२ गतेको अविरल वर्षाले भोटेकोशी गाउँपालिकाको लार्चास्थित भोटेकोशी नदीको बेलिबिज्र बगाएपछि सकसपूर्ण बनेको आवागमन नयाँ बेलिबिज्र जडानपछि सहज बनेको छ । नेपाल–चीनबिचको मुख्य नाका तातोपानीलाई जोड्ने लार्चामा बेलिबिज्र बगाएपछि नदीमा ह्युमपाइप राखेर मालवाहक कन्टेनरसहितका अन्य सवारी साधन सञ्चालनमा ल्याइएको थियो । २६ किलोमिटर दुरीको बाह्रबिसे–कोदारी लोकमार्ग अन्तर्गत लार्चाको बेलिबिज्र र लिपिङखोलाको पक्की पुल बाढीले बगाएको थियो ।

सडक डिभिजन कार्यालय चरीकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार एक करोड ७० लाख रुपियाँमा ४५ मिटर लामो बेलिब्रिज जडान गरिएको हो । सोवर्ण निर्माण सेवा र व्रिmयटिभ कन्स्ट्रक्सन एन्ड सप्लायर्स निर्माण कम्पनीले ठेक्का लागेको करिब डेढ महिनामा लार्चामा बेलिब्रिज जडान गरेका हुन् ।

यही महिनाको अन्तिमसम्ममा नयाँ बेलिब्रिजबाट मालवाहक कन्टेनरसहितका सवारी साधन सञ्चालन हुने इन्जिनियर महर्जनले बताउनुभयो । यस्तै लिपिङखोलामा बाढीले बगाएको पक्की पुलमा पनि ४५.७२ मिटर लामो बेलिब्रिज जडान गरी सोही पुलबाट मालवाहक आवागमन सञ्चालन भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

बाढीले बेलिब्रिज र पक्की पुल बगाएपछि करिब एक महिना बाह्रबिसे–कोदारी लोकमार्ग पूर्ण रूपमा बन्द भएको थियो । महिना दिनभन्दा बढी सडक अवरुद्ध भएपछि तातोपानी सुक्खा बन्दरगाहको भन्सार कार्यालयमा राजस्व सङ्कलन रोकिएको थियो । सडक डिभिजन कार्यालय, स्थानीय सरकार, नाका आबद्ध व्यापारिक सङ्घ संस्थालगायतको सहयोगबाट लिपिङ र लार्चामा बेलिब्रिज निर्माणका लागि पहल भएको थियो । तातोपानी नाका जोड्ने दुई पुलको निर्माणले सीमापार व्यापारलाई सहज भएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले बताउनुभयो ।