टोपलाल अर्याल
रेसुङ्गा, जेठ २७ गते । वैदेशिक रोजगारीका लागि विदेश जाने सङ्ख्याका आधारमा लुम्बिनी प्रदेशको गुल्मी चौथो स्थानमा रहेको छ । आर्थिक वर्षको १० महिनामा गुल्मी जिल्लाबाट मात्रै १० हजार १९१ जनाले श्रम तथा पुनः श्रम स्वीकृति लिएका छन् ।
जसमा ८.२० प्रतिशत अर्थात ८३६ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो वैदेशिक रोजगारीका लागि मात्रै लिइएको श्रम स्वीकृति हो । तर अन्य देशबाट जाने, अध्ययन तथा भ्रमणका लागि जानेहरुको सङ्ख्या अझै धेरै छ ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत भागिराम थारुले वैदेशिक रोजगार विभागलाई उद्धृत गर्दै वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढि रुपन्देही, दोस्रोमा दाङ र तेस्रोमा कपिलवस्तु रहेको बताउनुभयो । अधिकृत थारुले प्रस्तुत गरेको तथ्याङ्क अनुसार रुपन्देहीबाट २३ हजार ६०६, दाङबाट १६ हजार ६४, कपिलवस्तुबाट १४ हजार ७२२ र नवलपरासीबाट १० हजार ४९४ जना वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका छन् ।
त्यस्तै, बाँकेबाट १० हजार १८७, पाल्पाबाट १० हजार १८५, रोल्पाबाट नौ हजार २३४, अर्घाखाँचीबाट आठ हजार ८५५, बर्दियाबाट आठ हजार ६१८, प्युठानबाट पाँच हजार ६४९ र रुकुम पूर्वबाट दुई हजार ७८ जना गत वर्ष वैदेशिक रोजगारीका लागि विदेश गएका छन् ।
नेपालबाट श्रम स्वीकृति गरेर विदेश जनाको सङ्ख्या ८३ लाख पुगेको छ । अहिले दैनिक दुई हजार तीन सय मानिस वैदेशिक रोजगारीमा विदेश जाने गरेका छन् । वैदेशिक रोजगारीका लागि १११ मुलुक खुल्ला गरिएको छ । वैदेशिक रोजगारीले धेरै परिवारको सपना पूरा गरेको छ भने कसैलाई थप पीडा दिएको छ । वैदेशिक रोजगारीका कारण कतिले अकालमै ज्यान गुमाउन बाध्य भएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम रेसुङ्गा नगरपालिकाका अनुसार आर्थिक वर्ष २०८१/०८२ को १० महिनामा ३० जनालाई मनोमाजिक परामर्श दिइएको छ ।
अहिलेसम्म सामी कार्यक्रम रेसुङ्गा नगरपालिकामा मात्रै छ । मनोेसामाजिक समस्या भएका ३० जनामध्ये २२ जनालाई विभिन्न माध्यमबाट समस्याको समाधान गरिएको सामी कार्यक्रम जिल्ला संयोजक तिलक खनालले बताउनुभयो । गत आर्थिक वर्षमा १८ जनामा समस्या रहेको थियो ।
मनोसामाजिक समस्या आउनेहरुमा परदेश जानेहरुसँगै, उनीहरु घर परिवार तथा अन्य परिवार पनि छन् । आत्महत्याको प्रयास गर्ने, स्वास्थ्य समस्याका कारण पीडा, अत्यधिक चिन्ता, परिवारका सदस्य गुमाउँदाको अघात चोटलगायतका कारण मनोसामाजिक समस्या देखिएकाले लक्षणको आधारमा परामर्श गर्ने गरिएको कार्यक्रम संयोजक खनालले बताउनुभयो । कार्यक्रमले मनोसामाजिक परामर्शसहित आप्रवासी स्रोत केन्द्र र रिटर्नी स्वयसेवकमार्फत सूचना तथा न्यायमा पहुँच अभिवृद्धिको काम गरिरहेको छ ।
सामी कार्यक्रम लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत भागिराम थारुका आगामी वर्षबाट जिल्लाका सात स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, धुर्कोट, मालिका, चन्द्रकोट, छत्रकोट र कालिगण्डकी गाउँपालिका गरेर सात स्थानीय तहमा कार्यान्वयन हुनेछ ।