• २७ जेठ २०८२, मङ्गलबार

मान्छे मरिरहने, मोही मुद्दा चलिरहने

blog

देउखुरी समाचारदाता

देउखुरी, जेठ २७ गते । भूमिसम्बन्धी ऐन लागु भएको पाँच दशकभन्दा बढी भइसक्दासमेत दाङको भूमिसुधार तथा मालपोत कार्यालयमा मोहीसम्बन्धी मुद्दा पुस्तौँदेखि चल्दै आएका छन् । साबिक गाविसमा भएको जग्गा बिक्री, मोही बाँडफाँट, हकदाबी जस्ता विषयलाई लिएर सुरु भएका यस्ता मुद्दा अहिले दोस्रो र तेस्रो पुस्तासम्म पुगेका छन् ।

राजपुर गाउँपालिका–२ साबिक दुलैया–२ मा धर्मबहादुर थापाको नाममा रहेको कित्ता नम्बर ९४ र ९५ को जग्गा २०४५ साल जेठ ५ गतेको सरकारी निर्णय अनुसार दयाराम अहिरलाई बिक्री गरिएको थियो तर त्यही जग्गामा मोही हकवाला अझै कायम छन् । मोहीको हकमा सुरू भएको कानुनी लडाइँ २०७४ सालदेखि मानसिंह कामीले थाल्नुभएको थियो । उहाँको २०७१ मा निधन भएपछिको लडाइँ उहाँकी पत्नी बाटुली कामीले समाल्नुभयो । २०७६ मा उहाँको पनि निधन भएपछि अहिले भीमलाल कामीले तारेख धाउँदै आउनुभएको छ ।

जग्गाधनीको तर्फबाट समेत रामबहादुर अहिरले मुद्दा समाल्दै आउनुभएको छ । साविक बेला गाविस–५ की भगवती चौधरीले २०७५ मा निवेदन दिएर मोही खण्ड माग गर्नुभएको थियो तर उहाँको २०८१ मा निधन भएपछि अहिले छोरा शिउप्रसाद चौधरी तारेख बोक्दै आउनुभएको छ । कार्यालयका अनुसार धेरै जसो मुद्दा मृतकका हकवालाले बोकिरहेका छन् । 

कार्यालयका खरिदार मीनबहादुर केसीका अनुसार मिलापत्र नहुनु, आवश्यक प्रमाण नपाइने वा जग्गाधनी–मोहीबिच भेट नहुनुले गर्दा मुद्दा लम्बिएका हुन् । मोही प्रमाणपत्र बनाउँदा नक्सा, कित्ता नम्बर तथा क्षेत्रफलमा फरक देखिने, श्रेस्ता अद्यावधिक नभएको, दोहोरो मोही कायम भएको, मोही बाँडफाँड नगरी जग्गा बिक्री गरिएको जस्ता समस्याले पनि प्रक्रियागत जटिलता बढाएको छ ।

 स्वर्गद्वारी गुठी, गोरक्ष गुठी र नेपाल संस्कृत विश्वविद्यालयको नाममा रहेको करिब एक हजार पाँच सय बिघा जग्गामा पनि मोही समस्या ज्यूँका त्युँ छ । अदालतको आदेश अनुसार गुठी जग्गा खण्डीकृत नगर्न भनिए पनि मोही कायम देखिने, रेकर्ड फेला नपर्ने, जोतभोग अर्कैले गर्ने, प्रमाणपत्र नभएको वा किनबेच अनौपचारिक रूपमा भएको तथ्य भेटिएको बताइएको छ । 

भूमिसुधार तथा मालपोत कार्यालय दाङका अनुसार हालसम्म दुई हजार ५३ वटा मोहीसम्बन्धी मुद्दा दर्ता भएका छन् । तीमध्ये एक हजार ६१७ पुराना र ४३६ चालु आर्थिक वर्षका हुन् । कुल मुद्दामध्ये हालसम्म ३५० मात्र फस्र्योट भएका छन् भने एक हजार सात सय बाँकी छन् ।