गोरखापत्र समाचारदाता
काठमाडौँ, जेठ २७ गते । बागमती प्रदेशमा दर्ता भएको सवारीसाधनको विद्युतीय अभिलेखीकरण (डिजिटाइजेसन) राख्ने काम एक वर्षमा सम्पन्न गरिने भएको छ । श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीमा दर्ता भएकामध्ये ५८ हजार सवारीसाधनको विद्युतीय अभिलेखीकरण भएको छ ।
यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनाले हालसम्म झन्डै आठ हजार चारपाङ्ग्रे सवारी विद्युतीय अभिलेखीकरण गरेको छ । कार्यालयले ३० जना ज्यालादारी कर्मचारी राखेर दैनिक काम गरिरहेको कार्यालय प्रमुख पवित्र कुँवरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो महिनादेखि छुट्टै कर्मचारी राखेर कामलाई गति दिएका छौँ । अहिलेसम्म दुई सय वटा चारपाङ्गे्र सवारी अनलाइन अभिलेख भएका छन् । एक वर्षमा सबै सक्ने योजनासहित काम गरिएको छ ।”
एकान्तकुना कार्यालयमा तीन लाख सवारीका फाइल रहेका छन् । कार्यालयले फागुनदेखि यो काम सुरु गरेको हो । दुईपाङ्ग्रे सवारीको विद्युतीय अभिलेख राख्ने काम पनि तीव्र बनाइएको यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधाराले जनाएको छ । गुर्जुधारा कार्यालयले ५० जना ज्यालादारी कर्मचारी राखेर अभिलेख गरिरहेको छ । हालसम्म गुर्जुधारामा दुईपाङ्ग्रे सवारीमा मात्र अभिलेख राख्ने काम भएको छ ।
बागमतीमा चितवन, हेटौँडा, एकान्तकुना र गुर्जुधारा कार्यालयबाट विद्युतीय अभिलेख राख्ने काम हुँदै आएको छ । अभिलेख नागरिक एपबाट पनि हेर्न सकिने श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीका सूचना अधिकारी खगेन्द्र पौडेलले बताउनुभयो । विद्युतीय अभिलेख भएपछि कर चुक्तालगायतका जानकारी अनलाइनमै उपलब्ध हुने छ । कागजात बोकिरहन पर्दैन । पौडेलले भन्नुभयो, “एकीकृत अनलाइन डाटा उपलब्ध हुन्छ । नियन्त्रण र नियमन अनलाइनबाट हुन्छ ।”
लगत कट्टालगायत २० वर्ष पुराना सवारीलाई पत्रु बनाउनु पनि अनलाइन अभिलेखबाट सहयोग हुने मन्त्रालयले जनाएको छ । चारपाङ्ग्रे सवारीको फाइल सम्बन्धित कार्यालयमा रहेकाले हाल उक्त फाइलै अभिलेख गर्ने काम भएको छ ।
श्रम, रोजगार तथा यातायात मन्त्रालय बागमतीले सवारीका ब्लुबुक (नीलो किताब) लाई अनलाइन प्रणालीमार्फत क्युआर कोड राख्ने काम सुरु गरेको छ । नीलो किताबमा हुने सवारीसम्बन्धी सबै विवरण क्युआरबाट हेर्न मिल्ने भएपछि नीलो किताब साथमै लिएर हिँड्न नपर्ने भएको छ ।
यातायात व्यवस्था कार्यालय साना ठुला सवारी एकान्तकुनाले हालसम्म दुई सय वटा चारपाङ्ग्रे सवारीको नीलो किताबलाई क्युआर कोडमा राखेको छ । कार्यालय प्रमुख कुँवरले भन्नुभयो, “ब्लुबुकको सबै विवरण क्युआर कोडमा राखिने भएकाले हार्डकपी लिइरहनु पर्दैन । अनलाइनबाटै यसको चेकजाँच हुन्छ ।” नीलो किताबको क्युआर प्रणाली दुईपाङ्गे सवारीको सन्दर्भमा बढी उपयोगी हुने उहाँको भनाइ छ ।
मोटरसाइकलको ब्लुबुक हराउने, छुट्ने वा पानीमा भिज्ने समस्या भएकाले क्युआर भएपछि उक्त समस्यामुक्त भइने कार्यालयको दाबी छ । ट्राफिक चेकजाँचमा मोबाइलबाट रिड गरिने छ । क्युआरका लागि अनलाइनबाट आफैँले आवेदन भर्न सकिने व्यवस्था छ । यसका लागि अनलाइन भिआरएस डट बागमती डट जिओभी डट एनपीमा लगइन गरी दिइएको निर्देशन अनुसार भर्न सकिने छ ।