गोरखापत्र अनलाइन
काठमाडौँ, पुस १३ गते । अपाङ्गता भएका आदिवासी जनजाति, सीमान्तकृत समुदायको आवाजलाई सञ्चार माध्यमले अझै प्राथमिकता दिन नसकेको सरोकारवालाहरूले गुनासो गर्नुभएको छ ।
यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा सरोकारवालाहरूले सो गुनासो गरेका हुन् । इण्डिजिनियस टेलिभिजनका सम्पादक कुमार यात्रुले अपाङ्गता भएका आदिवासी समुदायको आवाजलाई मिडियाले उपेक्षा गरिरहेको बताउनु भयो ।
पत्रकार यात्रुले सञ्चारमा भएको उपनिवेशीकरणको अन्त्य हुन आवश्यक रहेको बताउनु भयो । ‘‘मिडिया प्रलेखन र अपाङ्गगता भएका आदिवासी महिलाः हातेमालो अन्तरक्रियात्मक कार्यक्रम’’ मा कार्यपत्र प्रस्तुत गर्दै उहाँले आफूलाई मेनस्ट्रिम भन्ने मिडियाहरु अझै आदिवासीको मुद्दामा उदासिन रहेको टिप्पणी गर्नु भयो ।
आदिवासी जनजाति, महिला, मेधेशी, दलित, समूदायको आवाजकहरू कहिल्यै प्राथमिकतामा नपरेको उहाँको भनाइ छ । अपाङ्गता भित्रको अपाङ्गताको मुद्दा पनि प्राथमिकतामा आउन नसकेको भन्दै उहाँले समाजको दृष्टिकोणमै परिवर्तन आउन आवश्यक रहेको बताउनु भयो ।
आदिवासी जनजाति अपाङ्ग महिला सङ्घ नेपालका पूर्व अध्यक्ष प्रतिमा गुरुङले आदिवासी जनजातिको सञ्चारमा पहुँच र समावेशीरणमा आदिवासी अपाङ्गता भएका व्यक्तिहरूको आवाजलाई मिडियाको मूलधारमा ल्याउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक समेत रहनु भएकी गुरुङले नेपालको आदिवासी जनजाति महिलाको आवाजलाई मिडियामा प्रभावकारी रूपले उठान गर्न आदिवासी पत्रकारले जोड दिनुपर्ने बताउनु भयो । ‘‘हामीले नगरे, कसले गर्ने, हाम्रो इतिहास हामीले नलेखे कसले लेख्ने’’ मूल मर्म भुल्न नहुने उहाँले बताउनु भयो । अर्का कार्यपत्र प्रस्तोता कृष्ण गहतराजले अपाङता भएका व्यक्तिहरूको पहिचान एकै प्रकारको नभएकाले विश्लेषण गरेर मात्र लेख्नु पर्ने बताउनु भयो । विश्व स्वास्थ्य सङ्गठनको कार्यविधि, साझा अवधारणा मूल मर्मलाई टेकेर कामगर्नु पर्ने उहाँको सुझाव छ । आदिवासी जनजाति अझै दलित भित्र पनि अपाङ्गगता भएका व्यक्तिहरुको मर्म र पहिचान समाजले बुझ्न नसकेको उहाँको गुनासो छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका सल्लाहकार खिम घलेले सैद्धान्तिक रूपमा समाचारलाई जतिसक्दो बुझ्ने र सरल बनाउने भन्नेकुरा भए पनि, आदिवासी जनजाति पत्रकारहरू अझै पनि पहुँच र सहभागीताकै कुरामा सङ्घर्ष गर्नु परिरहेको बताउनु भयो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घका पूर्व अध्यक्ष डण्ड गुरुङले कृषि क्षेत्रको विकास, विभिन्न उद्योग व्यवसाय विकासको समाचार लेख्नु पर्ने बेलामा अझै पनि आदिवासी जनजातिहरू आफ्नो समाचार सञ्चारको मूल प्रवाहमा प्राथमिकतामा पर्न नसकेको बताउनु भयो ।