• १३ पुस २०८२, आइतबार

बढेको भत्तालाई पेन्सनमा गाभ्न माग

blog

बागलुङ समाचारदाता

बागलुङ, जेठ २७ गते । पूर्वराष्ट्रसेवक सङ्गठन राष्ट्रिय समन्वय परिषद् नेपाल जिल्ला शाखा बागलुङले बढेको भत्तालाई तलबमा गाभेर पेन्सन सुविधा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । 

हालै बजेट भाषणमा कर्मचारीको भत्ता मात्रै तीन हजार रुपियाँ बढाएकाले त्यसबाट निवृत्त भएका कर्मचारीको सेवा सुविधामा कुनै प्रभाव नपरेकाले महँगी भत्ताको अनुपातमा पेन्सन सेवा बढाउन माग गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । पूर्वराष्ट्रसेवक सङ्गठन राष्ट्रिय समन्वय परिषद् नेपाल बागलुङका अध्यक्ष चिरञ्जीवीकुमार श्रेष्ठ, पूर्वकर्मचारी सेवा परिषद्का अध्यक्ष महेन्द्रसिंह रायमाझी, सेवानिवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष लक्ष्मण श्रेष्ठ, निवृत्त शिक्षक समाजका अध्यक्ष टीकाराम सापकोटा, नेपाल राष्ट्रिय भूतपूर्व प्रहरी सङ्गठनका अध्यक्ष टीकाबहादुर कार्की, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घका अध्यक्ष तिलकबहादुर थापाक्षेत्री र नेपाल पूर्वसशस्त्र प्रहरी बल बागलुङका अध्यक्ष हिमनाथ कंडेलले संयुक्त हस्ताक्षर गरेर प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको पनि ध्यानाकर्षण गराएका हुन् ।  

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री कार्यालयमा ध्यानाकर्षणपत्र पठाएको सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिइएको थियो । जेठ १५ गते प्रस्तुत गरेको बजेटमा बहालवाला राष्ट्रसेवकको हकमा तलब स्केल नबढाई वृद्धि भएको बजार मूल्यलाई थोरै मात्रामा भए पनि सम्बोधन गरेको तर निवृत्त राष्ट्रसेवक कर्मचारीलाई सम्बोधन नगरेको हुँदा सरकारको ध्यानाकर्षण गराएको पत्रकार सम्मेलनमा बताइयो ।