• २६ जेठ २०८२, सोमबार

पूर्वी पृतनापतिको जिम्मेवारीमा सहायक रथी केसी

blog

सचिन पोखरेल 
इटहरी, जेठ २६ गते ।
नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटरमा पूर्वी पृतनापतिको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले सम्हाल्नुभएको छ । यस अघि सेनाको प्रवक्ताको जिम्मेवारीमा रहनुभएका सहायक रथी केसीले इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरमा आयोजित कार्यक्रममा बुझबुझारथ गरी औपचारिक रूपमा जिम्मेवारी सम्हाल्नु भएको हो ।

पूर्वी पृतनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएका उपरथी पवनराज घिमिरेको जङ्गी अड्डामा सरुवा भएको छ । उहाँले पूर्वी पृतना हेडक्वाटरमा पूर्ण सफलताका साथ १३ महिना जिम्मेवारी बहन गर्नुभयो ।

यसैबिच, नागरिक–सैनिक सम्बन्ध विस्तार अभियान इटहरीमा सञ्चालित सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवश पोख्रेल तथा सचिव सचिन पोख्रेलले नयाँ पृतनापतिको जिम्मेवारी सम्हाल्नु भएका सहायक रथी केसीलाई स्वागत गरी सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभयो । सेनाको पूर्वी पृतनापति इटहरीस्थित सामुदायिक सर्पदंश उपचार केन्द्रको प्रमुख संरक्षक रहने व्यवस्था छ ।

यसैगरी, यस अघिका पृतनापति उपरथी पवनराज घिमिरेलाई अध्यक्ष पोख्रेलले विगत १३ महिनाको अवधिमा सामुदायिक सर्पदंश उपचार केन्द्रको प्रमुख संरक्षकको रूपमा रहेको देखाउनुभएको साथ, सहयोग र सद्भाव र सहकार्यप्रति आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गर्नुभएको थियो ।