• २८ जेठ २०८२, बुधबार

तिनतलेका किसानले व्यवसायिक चिराइतोखेतीबाट १२ लाखसम्म आम्दानी लिँदै

blog

भोजपुर, जेठ  २७ गते ।  षडानन्द नगरपालिका–१० तिनतलेका किसान बहुउपयोगी जडीबुटी चिराइतोको व्यावसायिक खेतीमा जुटेका छन् । चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएपछि उनीहरू चिराइतोखेतीमा जुटेका हुन् ।

 षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका एक सय २० बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन् । यहाँका माथिल्लो भेगका किसानको मुख्य आम्दानीको स्रोत चिराइतो रहेको छ । नगरपालिकाको माथिल्लो भेगलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरिएको छ ।

“चिराइतो तिनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्यबालीको तुलनामा जडीबुटी चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ । अहिले हामीले यो क्षेत्रलाई चिराइलो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

तिनतले क्षेत्रका किसानले चिराइतो बिक्रीबाट एकपटकमा न्यूनतम एक लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी लिने गरेको स्थानीय किसान फुर्लाक्पा शेर्पाले जानकारी दिनुभयो । आफूले अहिले २५ रोपनी क्षेत्रमा चिराइतोको व्यावसायिक खेती गरिरहेको उहाँले बताउनुभयो । चिराइतो बिक्रीबाट औसतमा वार्षिक चारदेखि सात लाखसम्म आम्दानी लिने गरेको उहाँको भनाइ छ । गत वर्ष चिराइतो बिक्रीबाट सात लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।

उत्पादन भएको चिराइतो घरबाट नै ठेकेदारले लैजाने गरेको स्थानीय अर्का किसान निमा शेर्पाले बताउनुभयो । गत वर्ष एक मन ९४० केजी. चिराइतो घरबाट नै ४० हजारदेखि ४५ हजारसम्ममा बिक्री भएको उहाँले जानकारी दिनुभयो । राम्रो आम्दानी हुने भएपछि १० वर्षअघिबाट व्यावसायिक रूपमा चिराइतोखेतीमा जुटेको उहाँको भनाइ छ ।

  “मैले १० वर्षअघिबाट चिराइतोको व्यावसायिक खेती गरिरहेको छु”, उहाँले भन्नुभयो, “चिराइतोबाट राम्रो आम्दानी लिँदै पनि आएको छु । बर्सेनि मूल्यवृद्धि भइरहेको आवस्था छ । त्यहीँ भएर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन् ।” चिराइतो बारीमा छरेको २६ देखि २७ महिनासम्ममा सङ्कलन गर्न योग्य हुने हुन्छ । चिराइतो भदौ, असोज, कात्तिकमा सङ्कलन गरिने शेर्पाले बताउनुभयो । पछिल्लो समय चिराइतोमा बोट सुक्ने, जरा कुहिने रोगको समस्या देखिन थालेको उहाँले जानकारी दिनुभयो । राज्यको तहबाट रोग कीरा नियन्त्रण सहयोग भएमा किसानले अझ राम्रो आम्दानी सक्ने उहाँको भनाइ छ । 

ज्वरो, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुकालगायत रोगका  लागि औषधीको रूपमा चिराइतो प्रयोग गर्न सकिने स्थानीयको भनाइ छ ।  पात, डाँठ, जरालगायत सम्पूर्ण भाग नै प्रयोग गर्न सकिन्छ । यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुने गरेको व्यवसायीको भनाइ छ ।  

एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले यहाँका माथिल्लो भेगका अधिकांश मानिसले यसको खेती गरिरहेका छन् । लेकाली भेग तथा चिस्यान क्षेत्र भएकाले यहाँ चिराइतोको राम्रो उत्पादन हुँदै आएको छ । चिराइतो षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग,  टेम्केमैयुङ–५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत व्यावसायिक खेती हुने गरेको छ । रासस