• २८ जेठ २०८२, बुधबार

‘राइड सेयरिङ नियमावली कार्यान्वयनमा जान्छ’

blog

गुणबहादुर रोका 

सुलीकोट, जेठ २७ गते  । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राइड सेयरिङसम्बन्धी नियमावली गण्डकी प्रदेश सरकारले एक महिनापछि कार्यान्वयन प्रक्रियामा लैजाने बताउनुभएको छ । सोमबार गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै मुख्यमन्त्री पाण्डेले सो कुरा बताउनुभएको हो । 

राइड सेयरिङ विषयमा गण्डकी प्रदेश सरकारले नियमावली बनाइसकेकाले पछि नहट्ने दाबी गर्नुभयो । एक महिनाको समय अवधिमा मुख्यमन्त्री पाण्डेले यातायात व्यवसायीको  कुरा सुन्न र वार्ताका लागि एक महिनाको समय लिएकाले त्यसपछि कार्यान्वयनमा जाने उहाँको भनाइ छ ।  

मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याइसकेको छ । नियमावलीभित्र सरोकारका केही विषय छुटेका छन् भने त्यसलाई यातायात व्यवसायीको माग अनुसार सम्बोधन गर्न सकिने भएकाले पनि वार्ता र संवादबाट निष्कर्षमा पुग्न प्रदेश सरकार तयार छ ।”

गण्डकी प्रदेश सरकारले अवैध तवरबाट सञ्चालनमा आएका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनलाई नियम अनुसार चलाएर राज्यलाई आम्दानीको स्रोत बढाउनका लागि पनि नियमावली अघि बढाइएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । 

उहाँले भन्नुभयो, “प्रदेश सरकारले यातायात व्यवसायीको माग सम्बोधन गर्न सक्ने अवस्था छ भने सम्बोधन गर्छौं, होइन भने राइड सेयरिङ नियमावली एक महिनापछि जसरी पनि कार्यान्वयनको प्रक्रियामा जान्छ ।”