• २८ जेठ २०८२, बुधबार

सडक तीन किलोमिटर, समय नौ वर्ष

blog

बुटवल समाचारदाता

बुटवल, जेठ २७ गते । साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न कति समय लाग्ला ? धेरै समय लागे छ महिनादेखि वर्ष दिनमा सकिन्छ भन्ने धेरैको अनुमान हुन सक्छ तर यो अनुमानविपरीत बुटवलको राजमार्ग चौराहादेखि गोलपार्कसम्मको साढे तीन किलोमिटर लामो सडक नौ वर्ष हुँदा पनि अझै पूरा भएको छैन । 

समयमा निर्माण सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का रद्द गरी नयाँ निर्माण व्यवसायीलाई कामको जिम्मा दिएपछि पछिल्लो समय भने बल्ल यो सडक निर्माणको कामले गति लिएको छ । गत असोजमा एक वर्षभित्रैमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माण सुरु भएको नौ महिनाको अवधिमा २५ प्रतिशत निर्माणको काम सम्पन्न भएको छ । 

सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी महेश्वर लम्सालले बिचमा केही समय काम सुस्ताए पनि पछिल्लो समय भने कामले गति लिएको बताउनुभयो । उहाँका अनुसार सडकको नालीतर्फको काम भने ७० प्रतिशतभन्दा धेरै सम्पन्न भइसकेको छ । 

बुटवलको मुख्य सडक निर्माणका लागि कञ्चनजङ्घा बिरुवा जेभीसँग २०७३ साल चैत १७ गते ५३ करोड ९७ लाख ९९ हजार चार सय रुपियाँमा २०७६ सालसम्ममा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर साढे तीन किलोमिटर सडक निर्माणको काम आठ वर्षमा पनि सम्पन्न नभएपछि सडक डिभिजन कार्यालयले ठेक्का तोडेको थियो । 

गत वर्ष असोजमा बाबुल दर्शन मालिका जेभी भैरहवाले २०८१ असोज १८ गते एक वर्षभित्रमा काम सम्पन्न गर्ने गरी ३३ करोड रुपियाँमा ठेक्का लिएको हो । अहिले सर्भिस लेनको कालोपत्रे गर्ने काम धमाधम सुरु भएको छ भने राजमार्ग चौराहादेखि मिलनचोकसम्मको एकातर्फको सर्भिस लेनको कालोपत्रेको कामसमेत सुरु भएको छ । 

सडक डिभिजन कार्यालय बुटवलका अनुसार सडकको फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रिनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले लामो समयदेखि निर्माण नभएका कारण बुटवलवासीले सास्ती पाइरहेको अवस्थामा अब यो सडक निर्माणले गति लिएकाले चाँडै सम्पन्न हुने विश्वास बढेको बताउनुभयो । सडक डिभिजन कार्यालय बुटवलका सूचना अधिकारी लम्सालले अबको तीन महिनाभित्रमा निर्माणको काम सम्पन्न हुने अवस्था नरहेको बताउँदै म्याद थप गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।   

सडक डिभिजन कार्यालय बुटवलले भने निर्धारित एक वर्षको समयभित्रै निर्माणको काम नसकिए पनि यही अवस्थामा निर्माण भए ९० प्रतिशत काम सम्पन्न हुने जनाएको छ । उद्योग वाणिज्य सङ्घ बुटवलका अध्यक्ष हरि अर्यालले बुटवलको मुख्य बजार छुने चौराहदेखि गोलपार्क चिडियाखोलासम्मको सडक लामो समय अलपत्र हुँदा व्यवसाय गर्न समस्या देखिएको, धुलो धुवाँका कारण स्वास्थ्यमा पनि समस्या परेको बताउनुभयो ।