हाम्रो बानी पनि अनौँठो छ । हामीसँग जुन कुरा छ त्यो मन नपर्ने, अनि जुन कुरा छैन त्यही प्यारो है ? करिब पाँच महिनासम्मको जाडोयाममा जाडोभन्दा त बरु गर्मी नै जाति भनेर गफ लगाउने हामी नै हौँ । फेरि गर्मी सुरु भएको एक महिना हुन पाएको छैन हामी भन्न थालिसक्यौँ– बरु जाडो नै ठिक, जे खाए पनि पच्ने । खायो बस्यो आनन्द । न लामखुट्टे न रोगव्याधीको महामारी । गर्मीमा त न जेसुकै खान रुच्दछ न त खान नै हुन्छ । दिउँसो खायो राति के हुने हो भन्ने डर । हामीले भन्ने यी कुराबाटै गर्मीयाममा खानेकुरामा कत्तिको सावधान रहनु पर्छ भन्ने कुरा थाहा हुन्छ ।
वैशाख लागिसक्यो । अब गर्मी मौसम सुरु भयो । अबको झन्डै आठ महिनासम्म हामीले गर्मी महिना झेल्नु पर्ने हुन्छ । गर्मीयाममा खाने कुरामा विशेष ध्यान दिनु पर्छ । गर्मीमा शरीरमा पानीको मात्रा कमी हुने अर्थात् डिहाइड्रेसन हुने तथा विभिन्न रोगको सङ्क्रमण एवं स्वास्थ्य समस्या देखिन सक्छन् । गर्मीयाममा डिहाइड्रेसनको खतरा निकै बढी हुने भएकाले प्रशस्त मात्रामा पानी र झोल कुरा पिउनुका साथै आफ्नो खानपिनको तरिकामा विशेष ध्यान दिनु पर्दछ ।
गर्मीमा हामीलाई प्यास बढी लाग्छ । यस्तो बेला बजारमा पाइने तयारी चिसो पेय पदार्थको साटो दही, उखुको रस, नरिवल पानी तथा लस्सी पिउनु फाइदाजनक हुन्छ । गर्मी याममा डिहाइड्रेसनबाट बच्नका लागि ग्रिन टी अथवा कोल्ड कफीको सेवन पनि लाभदायी हुन्छ । शरीरको रोगप्रतिरोधी क्षमता बनाइराख्न नियमित रूपमा गाँजर, गोलभेँडा, पालुङ्गो जस्ता तरकारीका साथै काँक्रो, खरबुजा, तरबुजा, मेवा, आँप, लिची, नासपाती जस्ता मौसमी फलफूल खानु पर्दछ । यसले एसिडिटी र कब्जियतको समस्याबाट पनि छुटकारा दिलाउँछ । यस्ता मौसमी तरकारी र फलफूल खाने गर्नाले शरीर शीतल रहन्छ ।
गर्मीमा पानीको कमीले डिहाइड्रेसन हुनुका साथै शरीरबाट अत्यधिक पसिना निस्कने हुनाले शरीरमा इलेक्ट्रोलाइट असन्तुलित बन्दछ । त्यस कारण खानाको साथसाथै नियमित रूपमा फलफूल, सागसब्जी र प्रशस्त मात्रामा सलाद लिनु आवश्यक हुन्छ । गर्मीयाममा शरीरमा पानीको पर्याप्त आपूर्तिका लागि प्रशस्त पानीको मात्रा हुने फर्सी, करेला, लौका, हरियो सिमी जस्ता तरकारी प्रशस्त मात्रामा खानु पर्दछ । यस्ता खानेकुराले शरीरमा पानीको पर्याप्त आपूर्ति गर्नुका साथै रोग प्रतिरोधी क्षमता पनि बढाउँदछन् । नियमित खानामा दाल, भातसँगै दुध, फलफूल, जुस, टुसा उमारेको गेडागुडीलगायतका परिकार समावेश गरिनु उपयुक्त मानिन्छ ।
गर्मीयाममा सामान्यतः बिहान दाल, भात र बेलुका फाइबरयुक्त सागसब्जी तथा रोटी जस्तो हल्का भोजन गर्नु शरीरका लागि राम्रो मानिन्छ । गर्मीको समयमा शरीरको पाचन प्रणालीमा समेत समस्या आउने भएकाले हल्का खाना खानु पर्छ नत्र अपच हुने जोखिम हुन्छ ।
तेलमा तारेका, भुटेका खानेकुरा नखानु नै राम्रो हुन्छ । गर्मीयाममा विभिन्न रोगका सङ्क्रमणको खतरा जाडोमा भन्दा बढी हुने भएकाले बासी, झिँगा भन्किएका र सडेगलेका खानेकुराबाट टाढै रहनु पर्दछ । सडक छेउमा ठेलामा बेच्न राखिएका खानेकुरामाथि आँखा नलगाउँदा नै बेस हुन्छ ।