• २८ जेठ २०८२, बुधबार

प्रधानमन्त्री ओली जनकपुरधाम आउनुहुँदै

blog

प्रधानमन्त्री केपी शर्मा ओली

लक्ष्मी चौधरी
जनकपुरधाम, जेठ २७ गते ।
प्रधानमन्त्री केपी शर्मा ओली मङ्गलबार जनकपुरधाम आउँदै हुनुहुन्छ । राजर्षिजनक विश्वविद्यालयको पहिलो तथा ऐतिहासिक दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री एवम् कुलपति ओली जनकपुरधाम आउन लाग्नुभएको हो ।

आज जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्रमा आयोजना हुने विश्वविद्यालयको दिक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण विद्यार्थीलाई दीक्षित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।

केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रका अनुसार तीन ब्याचमा स्नातक तथा स्नातकोत्तर तह उत्तीर्ण ११५ जना विद्यार्थी दीक्षित हुने छन् । २०८२ जेठ ५ गतेसम्म उत्तीर्ण भई ट्रान्सक्रिप्ट प्राप्त गरेका विद्यार्थीले दीक्षान्त कार्यक्रममा सहभागी हुन फारम भर्ने व्यवस्था मिलाइएको छ । साथै विश्वविद्यालयस्तरमा उत्कृष्ट चार जना र विभिन्न सङ्काय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने १०–१० जना विद्यार्थीलाई पदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ ।

सङ्घीय सरकारअन्तर्गत सञ्चालनमा रहेको राजर्षिजनक विश्वविद्यालयमा हाल चार सङ्कायका १३ वटा शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । जसमा एमफिल, एमबिए, बिबिए, बिडिबिएम, बिई–सिभिल, बिआइटी, बिसिए, बिएस्सी–सिएसआइटी, बिपिएच, बिएस्सी–एमएलटी, बिएस्सी–एजी, बिए–एलएलबी र बिजेएमसी कार्यक्रम समावेश छन् ।

२०७४ साल कात्तिक १२ गते स्थापना भएको यो विश्वविद्यालय मातहत पाँच वटा आङ्गिक क्याम्पसहरू रहेका छन् भने हालसम्म ६८ वटा निजी क्याम्पसहरूले सम्बन्धन समेत लिएका छन्   ।