• १७ असार २०८१, सोमबार

नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादीका प्रेम र उपाध्यक्षमा कांग्रेसका तकदिर विजयी

blog

नाम्खा गाउँपालिकाको अध्यक्षमा निर्वाचित माओवादीका प्रेम र उपाध्यक्षमा कांग्रेसका तकदिर । । तस्बिर : गोरखापत्र

राजन रावत 

हुुम्ला जेठ ३ गते । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाको अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका प्रेम लामा र उपाध्यक्षमा नेपाली कांग्रेसका तकदिर लामा विजयी हुनु भएको छ । उहाँहरु दुुवै गठबन्धन दलका तर्फबाट निर्वाचित हुनु भएको हो ।

नाम्खा गाउँपालिकाको सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले अध्यक्ष र उपाध्यक्षमा लामाद्वय निर्वाचित भएको बताउनुभयो । उहाँका अनुसार अध्यक्ष पदमा निर्वाचित लामाले एक हजार ४६६ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी सुर्य लामाले ६६२ मत ल्याउनु भएको थियो । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ ।

त्यसैगरी उपाध्यक्ष लामाले एक हजार ९४ मत ल्याउनुु भएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी लाक्पानुर्बु लामाले ५६५ मत ल्याउनुु भएको छ । उहाँ पनि कांग्रेस निकट हुनुहुन्छ । नाम्खामा तीन हजार १८२ मत रहेकोमा  दुई हजार ३७१ मत खसेको थियो । 

नाम्खा गाउँपालिका सहायक निर्वाचन अधिकृतको कार्यालयका अनुसार  वडा नम्बर २ बाट सुनाम क्याप लामाले स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनु भएको छ । उहाँले ३१८ मत ल्याएर निर्वाचित हुनु भएको छ । उहाँ नेपाली कांग्रेस निकट हुनुहुन्छ । उहाँको प्रतिद्वन्द्वी गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार तुण्डुप तामाङ प्रतिस्पर्धी हुन  ।

त्यसैगरी सो गाउँपालिकाको वडा नम्बर ३ बाट छिरिङ ग्याम्जो लामा पनि स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित हुनु भएको छ । उहाँले १५६ मत ल्याएर विजयी हुनु भएको हो । उहाँ नेकपा माओवादी निकट हुनुहुन्छ ।  प्रतिद्वन्द्वीमा गठबन्धनका तर्फबाट नेपाली कांगेसका उम्मेदवार अञ्जु लामा प्रतिस्पर्धी हुनुहुन्छ । 

वडा नम्बर ४ मा भने नेकपा एमालेका लातार लामा विजयी हुनुभएको छ । उहाँले १२९ मत ल्याएर वडा अध्यक्षमा विजयी हुनु भएको हो । ५ नम्बर वडामा नेपाली कांग्रेसका पाल्जोर लामा विजयी हुनु भएको छ । उहाँले १६६ मत ल्याउनुु भएको थियो । नाम्खा गाउँपालिका–६ को लिमीबाट भने यसअघि नै पाल्जोर तामाङ स्वतन्त्रबाट निर्वाचित हुनु भएको हो ।