• १० वैशाख २०८३, बिहिबार

प्रतिष्ठानमा कार्यान्वयन भएन श्रम कानुन

blog

गोरखापत्र समाचारदाता 

काठमाडौँ, वैशाख १० गते । अधिकांश औद्योगिक प्रतिष्ठानले श्रम कानुन पालना नगरेको पाइएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले हालै गरेको अनुगमनले त्यस्ता प्रतिष्ठानले न्यूनतम पारिश्रमिक कार्यान्वयन नगरेको, नियमित श्रम अडिट नगरेको र सामाजिक सुरक्षा कोषमा सूचीकरण नभएकोलगायतका समस्या भेटिएको जनाएको छ । 

विभागका अनुसार स्वास्थ्यका ११ वटा रोजगारदाता कम्पनीको अनुगमन गर्दा यस्तो समस्या पाइएको हो । खास गरी चिकित्सक, नर्सलगायत अन्य स्वास्थ्यकर्मीले न्यूनतम पारिश्रमिक नपाएको भन्ने गुनासोका आधारमा विभिन्न स्वास्थ्य संस्थासहितमा विभागले अनुगमन गरेको थियो । 

विभागका निर्देशक मणिनाथ गोपेले श्रम कानुनको पालनामा कमजोरी देखिएका ती प्रतिष्ठानलाई कानुन पालना गर्दै तत्काल सुधार गर्न निर्देशन दिएको जानकारी दिनुभयो । उहाँले ती प्रतिष्ठान अनुगमनका क्रममा केही प्रतिष्ठानमा गम्भीर समस्या पनि फेला परेको बताउनुभयो । 

विभागले अनुगमनका क्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यको अवस्था, बालश्रमको अवस्था र सामाजिक सुरक्षा कोषमा आबद्धता जस्ता विषयमा निरीक्षण गरेको निर्देशक गोपेले बताउनुभयो । उहाँका अनुसार श्रमिकको हकहित र कार्यस्थलको सुरक्षा सुनिश्चित गर्न विभागले नियमित रूपमा यस्ता अनुगमन कार्यलाई निरन्तर दिने योजना बनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अघिल्लो साता मात्रै स्वास्थ्य प्रतिष्ठानलाई सरकारले तोके अनुसार पारिश्रमिक दिए वा नदिएको अनुगमन गर्न विभागलाई निर्देशन दिएको थियो ।