टोपलाल अर्याल
रेसुङ्गा(गुल्मी), वैशाख १० गते । गुल्मीको रेसुङ्गा नगरपालिकाले तम्घास बजारको फुटपाथ व्यावस्थापन गर्न थालेको छ । तम्घास बजार क्षेत्रमा व्यापार व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरूले सडक पेटी (फुटपाथ) मा विभिन्न मालसामान राखी पैदल यात्रीहरुको आवागमनमा अवरोध सिर्जना गरेको जनगुनासो बढेको छ ।
यो विषयमा नगरपालिकाको अनुगमन संयन्त्रवाट पटक–पटक अनुगमन गरी सुझाव–सल्लाह समेत दिएको थियो । केही अटेर गर्नेहरुलाई आवश्यक कारवाही समेत गरिएको सन्दर्भमा पुनः जनगुनासो प्राप्त हुन आएकाले अब कडा कारबाही गर्ने गरेर सूचना गरिएको रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताउनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ तथा प्रचलित अन्य सम्बन्धित कानुन बमोजिम सार्वजनिक सडक, पेटी तथा सार्वजनिक स्थानहरूमा अवरोध पुर्याउने कार्य निषेधित रहेको छ । सार्वजनिक स्थलहरू सबै नागरिकको साझा सम्पत्ति भएकाले यसमा अवरोध सिर्जना गर्नु कानुन विपरीत मानिने उल्लेख भएको प्रशासकीय अधिकृत पल्लीले बताउनुभयो ।
उहाँले गत वैशाख ७ गते नगरपालिकामा बसेको सरोकारवालाहरुसहितको बैठकको निर्णयानुसार तत्काल सडक पेटीमा कुनै पनि किसिमका सामग्री राखी पैदल मार्ग अवरुद्ध नगर्नु हुन सम्पूर्ण व्यवसायीहरूलाई अनुरोध गर्नुभयो । अन्यथा, प्रचलित कानुन बमोजिम जरिवाना तथा आवश्यक कारवाही गरिने पल्लीले बताउनुभयो ।