कालीकोट, वैशाख ९ गते । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको मान्म–ताडी सडक खण्ड अहिले अत्यन्तै जोखिमपूर्ण अवस्थामा पुगेको छ। सडकको अवस्था दिनप्रतिदिन बिग्रँदै जाँदा यात्रु तथा सवारी चालकहरू त्रसित बनेका छन् भने पैदल यात्रुहरू पनि जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्।
सडकको किनार भत्किएको, ढुंगा खसेर सडकमा थुप्रिएको र सुरक्षा बार (सेफ्टी बार) समेत कमजोर भएकाले मान्म–ताडी खण्ड थप जोखिममा परेको छ।
एकातिर भीरालो र जीर्ण सडक, अर्कोतर्फ साँघुरो कच्ची सडक भएकाले दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन्। स्थानीय तिलक चौलागाईंले राति बजारबाट फर्कँदा समेत डर लाग्ने गरेको बताउनुभयो। “कतिबेला माथिबाट ढुंगा खस्ने हो भन्ने थाहा हुँदैन। तल सेफ्टी बार पनि कमजोर छ। बीचमा पानीले खाल्डा पारेको छ, सडक निकै जीर्ण छ,” उहाँले भन्नुभयो।
उहाँका अनुसार ठेकेदारले काम नगरेको हो वा सडक डिभिजनले मर्मत नगरेको हो भन्ने स्पष्ट नभए पनि सडक जहाँतहीँ जोखिमपूर्ण बनेको छ।
स्थानीय रोशन पाण्डेले वर्षा सुरु नहुँदै सडक जीर्ण बन्दै गएको बताउनुभयो। “सानो पानी पर्दा पनि ढुंगा झर्ने र सडक अवरुद्ध हुने समस्या छ,” उहाँले भन्नुभयो, “बर्खामा त झन् यात्रा गर्नै नसकिने अवस्था आउँछ।”
यस खण्डमा नियमित सवारी सञ्चालन भइरहे पनि सडक स्तरोन्नतिको काम प्रभावकारी रूपमा अघि नबढ्दा समस्या झन् गम्भीर बन्दै गएको छ। यात्रुहरूले सुरक्षित यात्राका लागि तत्काल मर्मत तथा संरक्षणका काम अघि बढाउन सम्बन्धित निकायसँग माग गरेका छन्।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख हिमबहादुर खत्रीले जोखिमयुक्त सडक भएकाले भित्तामा “यहाँ जोखिम छ” भन्ने सूचना टाँसिएको बताउनुभयो। “कार्यालयसँग समन्वय गर्दा निर्माण व्यवसायीले काम नगरेको भन्ने जानकारी आएको छ, अब केही सुधार हुन्छ कि हेरौँ,” उहाँले भन्नुभयो।
वर्षायाम नजिकिँदै गर्दा पहिरो र ढुंगा खस्ने जोखिम उच्च हुने भएकाले यस सडक खण्डमा तत्काल सुधार आवश्यक देखिएको छ। अन्यथा, कर्णाली प्रदेशको राजधानीसँग कालीकोट, जुम्ला र मुगुको सिधा यातायात सम्पर्क प्रभावित हुने खतरा बढ्दै गएको छ।