काठमाडौँ, कात्तिक १५ गते । दसैँपछिको दोस्रो ठुलो चाड तिहार उज्यालोको पनि पर्व हो । पशुपन्छी, प्रकृतिको पूजा गरिने चाडका रूपमा तिहारलाई लिइन्छ । वर्षमा एक पटक खेलिने देउसीभैलोले तिहारलाई थप उत्साहमय बनाउँछ ।
सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमका धुनमा तालसुर मिलाएर इतिहास र पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो प्रचलन अहिले त्यति देख्न पाइँदैन । हिजोआज ठाउँ अनुसार सबै कुरा परिवर्तित हुँदै गएका छन् । देउसीभैलो भट्याउने भाकाहरू धेरै बदलिएका छन् ।
संस्कृतिविद् गोविन्द टन्डन भन्नुहुन्छ, अहिले देशमा देउसीभैलो खेल्ने युवा नै कहाँ छन् र सबै त बिदेसिइसके ।” हो देउसीभैलो खेल्ने शैलीमा परिवर्तन भने अवश्य आएको छ । एक त खेल्ने मान्छे नै छैन, त्यसमाथि समयावधि तोकिदिनाले पनि यसमा असर परेको हो कि, टन्डनले भन्नुभयो ।
टन्डनका अनुसार देउसी पुरुष–महिला मिलेर खेल्ने र भैलिनी चाहिँ महिलाले मात्र खेल्ने चलन पहिलेदेखिकै हो तर हिजोआज पुरुष पनि महिलासँग रमाउँदै भैलिनी खेल्न थालेको पाइन्छ । “यसलाई अनौठो मान्नु चाहिँ हुँदैन, समय अनुसार संस्कृतिमा पनि परिवर्तन आउँदै गएको बुझ्नु जरुरी छ,” उहाँ भन्नुहुन्छ । देउसी खेल्दा भट्याउने विषयवस्तु फरक फरक सन्दर्भका हुन्छन् । विशेष गरी पौराणिक कथाहरू प्रस्तुत गरेर रमाइलो पाराले भट्याउँदा सुन्नेलाई पनि आनन्द लाग्छ तर यस्ता पौराणिक कथा पनि अब क्रमशः हराउँदै गएका छन् ।
वरिष्ठ चलचित्र निर्देशक यादव खरेल पहिले दिदीबहिनीहरू फरिया लगाएर कोसेली लिएर निम्ता दिन आउने गरेको अनुभव सुनाउनुहुन्छ । विगतभन्दा अहिले चलन फेरिएको छ । अहिले प्रविधिले गर्दा कतिपय चलन हराएको उहाँको अनुभव छ । उहाँ थप्नुहुन्छ, “पहिला अरसी, अनरसा बनाउने चलन थियो तर अहिले अरसी कतै पाइँदैन बरु अनरसा एक/दुई ठाउँमा देख्न सकिन्छ ।” खरेल थप्नुहुन्छ, “पहिले रातभर र बिहान हुन्जेल देउसीभैलो खेल्थे । त्यो देउसीभैलोमा आफ्नै मौलिक संस्कृति हुन्थ्यो । अहिले जस्तो १० बजेपछि देउसीभैलो खेल्न रोक थिएन । बरु धेरै महिला दिउँसो आउँथे, राति खेल्न आउनेहरू धेरै पुरुष हुन्थे । अहिले देउसीभैलो खेल्ने कुरा संस्कृतिभन्दा पनि पैसा कमाउने मेलो भएको छ । त्यो समय देउसीभैलो खेल्नेले आशिष दिन्थे । अनि घरबेटीले थालमा सेलरोटी, फूलपाती, अक्षता, पैसा र बिचमा दीप राखिदिन्थे तर अहिले सङ्घ संस्था आउँछन् र उनीहरूको पैसामा मात्रै ध्यान हुन्छ ।”
तिहारको पहिलो दिन कागको पूजा गरेपछि दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा, चौथो दिन अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवर्धनपूजा, नेवारी समुदायले मनाउने नयाँ वर्ष र म्हः पूजा एवं तिहारको अन्तिम दिन कार्तिक शुक्ल द्वितीयामा भाइटीका सम्पन्न गरी तिहार बिदा हुन्छ ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनको पनि आफ्नै महìव छ । मृत्युका अधिपति यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुनाकहाँ यी पाँच दिन अतिथिका रूपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको माहात्म्य छ । भाइटीकाको दिनको पूजा तिनै यमराज र यमुनाको नाममा समर्पित छ । त्यस दिन दिदीबहिनीले दाजुभाइलाई टीका लगाउँदा यमराजले आफ्ना दाजुभाइलाई समयअगावै नडाकून् भन्ने चाहना अभिव्यक्त भएको हुन्छ ।