• ८ माघ २०८२, बिहिबार

मुलुकलाई अट्ठाइस खर्ब ऋणको भार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, माघ ८ गते । मुलुकको सार्वजनिक ऋण २८ खर्ब रुपियाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्म मुलुकसँग २८ खर्ब छ अर्ब ३९ करोड रुपियाँ ऋणको भार छ जुन नेपालको कुल अर्थतन्त्रको अनुपातमा करिब ४६ प्रतिशत हुन आउँछ । 

कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये १३ खर्ब १९ अर्ब रुपियाँ आन्तरिक ऋणको दायित्व छ । त्यस्तै बाह्य ऋण भने १४ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । 

चालु आर्थिक वर्षमा मात्रै दुई खर्ब १४ अर्ब रुपियाँ ऋण थपिएको छ । जसमध्ये एक खर्ब ७७ अर्ब रुपियाँ आन्तरिक र ३६ करोड ८९ लाख रुपियाँ बाह्य ऋण रहेको छ । 

यस अवधिमा मुलुकले एक खर्ब ८७ अर्ब रुपियाँ ऋण सेवाबापत भुक्तान पनि गरेको छ, जसमध्ये एक खर्ब ५५ अर्ब रुपियाँ आन्तरिक ऋणबापत भुक्तान भएको कार्यालयले जनाएको छ । भुक्तान भएको आन्तरिक ऋणमध्ये एक खर्ब २६ अर्ब रुपियाँमा साँवा र २८ अर्ब ३७ करोड रुपियाँ ब्याज छ । 

त्यस्तै बाह्य ऋणबापत सरकारले ३१ अर्ब ९९ करोड रुपियाँ भुक्तान गरेको छ, जसमध्ये २६ अर्ब १३ करोड रुपियाँ साँवा र पाँच अर्ब ८५ करोड रुपियाँ ब्याज भुक्तान भएको कार्यालयले जनाएको छ । सरकारले चालु आवका लागि चार खर्ब ११ अर्ब रुपियाँ ऋणबापतको भुक्तानीका लागि रकम विनियोजन गरेको छ ।