काठमाडौँ, पुस १३ गते । चलचित्र ‘अवतार : फायर एन्ड एस’ जेम्स क्यामरुन निर्देशित अवतारको तेस्रो शृङ्खला हो । ‘अवतार’ (२००९) र ‘अवतार : द वे अफ वाटर’ (२०२२) ले दर्शकबाट राम्रो प्रतिक्रिया बटुलेको थियो । अहिले तेस्रो शृङ्खलाबाट दर्शकले राम्रो अपेक्षा राखे पनि अपेक्षाअनुरूपको चलचित्र दर्शकले पाएनन् । चलचित्र ‘अवतार’ लाई जसरी एउटा ठुलो चलचित्र जसभित्र भिन्न संसार र अद्भुत प्रविधिबारे देखाइएको थियो । यस चलचित्रको लगानी विशाल छ । चलचित्रका सेट धेरै महँगो र भव्य देखिन्छ । यद्यपि चलचित्र हेरेपछि प्रविधि र यसभित्रका दृश्यबाहेक अन्य कुनै कुरा पाइँदैन । अघिल्ला दुई शृङ्खला जस्तै अवतार–३ पनि पुरानै लयमा दैडिएको छ ।
चलचित्रको कथामा यस पटक पनि मानिस र पाण्डोराको संसारबिचको द्वन्द्वमा केन्द्रित छ । चलचित्रको छायाङ्कन आगो, खरानी र ज्वालामुखीले भरिएको ठाउँमा गरिएको छ । सुरुमा, स्थान नयाँ र फरक देखिन्छ । जसले दर्शकको मनमा अनेकन जिज्ञासा जगाउन सक्छ । चलचित्र हेर्दाहेर्दै दर्शकलाई यस्तो लाग्छ कि कुनै चलचित्रभित्र अब ठुलो मोड आउन लागेको छ, तर धेरैजसो घटना पहिले नै दर्शक बुझिसेकका हुन्छन् । यो सँगसँगै चलचित्रको रोमाञ्चक शैली विस्तारै कम हुँदै जान्छ । कथामा कुनै पनि नवीनता छैन र कहिलेकाहीँ यस्तो लाग्छ कि उही पुराना कुरालाई थोरै परिवर्तन गरेर निर्देशक क्यामरुनले चलचित्र बनाएका छन् ।
जेक सुलीको भूमिकामा देखिनुभएका साम वर्थिङ्गटनको अभिनयमा खासै परिवर्तन ल्याउनुभएको छैन । उहाँको चरित्रको पुरानै ढर्राको छ । दर्शकलाई उहाँको अभिनय नयाँ परिस्थितिबाट गुज्रिरहेको वा केही नयाँ सिकिरहेको जस्तो लाग्दैन । उहाँको अभिनय अघिल्ला दुई चलचित्रसँग मिल्दोजुल्दो हो कि भन्ने भान हुन्छ । यस्तै नेतिरीको भूमिका देखिनुभएकी अभिनेतृ जोई सलडाना पनि एकै खालको क्यारेक्टरमा सीमित छ । उहाँ प्रायः रिसाह वा दुःखित अवस्थामा मात्र देखिनुभएकी छ । चलचित्रका प्रमुख खलनायक वाराङको भूमिकामा देखिनुभएकी उना च्याप्लिनको यो डेब्यु चलचित्र हो । उहाँको अभिनय तारिफयोग्य छ । चलचित्रमा नयाँ पात्रहरू देखा परे पनि उनीहरूसँग दर्शकले जोडिन सक्ने कुनै विशेष आकर्षणको अभाव खट्किएको पाइन्छ ।
चलचित्रको छायाङ्कन पक्ष बलियो छ । क्यामराको चाल सहज छ र एक्सन दृश्यहरू स्पष्ट छन् । थ्रिडी र ठुलो स्क्रिनमा हेर्दा दर्शकलाई अवश्य नै नयाँ अनुभव हुन्छन् । निर्देशकले चलचित्रमा कथाभन्दा प्रविधिलाई बढी महìव दिएका हुन् कि भन्ने भान हुन्छ । केही दृश्य दृश्यात्मकता देखाउनका लागि मात्र तन्काइएको जस्तो लाग्छ । तथापि चलचित्र प्राविधिक स्थरमा भने एकदमै बलियो छ ।
चलचित्रको अर्को नराम्रो पक्ष भनेको यसको लम्बाइ हो । वातावरण बचाउने बारेमा चलचित्रले दिन खोजेको सन्देश मान्य छ, तर यसलाई धेरै लामो तरिकाले प्रस्तुत गरिएको छ । पहिलो अवतारले दर्शकलाई पाण्डोराको नयाँ संसारसँग परिचय गराए पनि, दोस्रो ‘द वे अफ वाटर’ ले त्यो संसारको भावनात्मक र पारिवारिक पक्षलाई अगाडि बढाएको थियो । अहिले अवतार–३ सम्म आइपुग्दा आगो र खरानीसँगको त्यो भावनात्मक सम्बन्धको अभाव खट्किन्छ । अवतार : फायर एन्ड एस दृश्यात्मक रूपमा अद्भुत हुन सक्छ, तर अन्य हिसाबले हेर्ने हो भने चलचित्र सामान्य छ । ठुला दृश्य र प्रविधिका लागि मात्र चलचित्र हेर्छु भन्नेहरूका लागि चलचित्र ठिक लाग्न सक्छ तर नयाँ र बलियो कथा, राम्रा पात्र र भावनाको अपेक्षा गर्नेका लागि चलचित्र निराशाजनक हुन सक्छ ।