• ७ माघ २०८२, बुधबार

पाँच जना उम्मेदवार एउटै पालिकाका

blog

एउटै स्थानीय तहबाट उम्मेदवारी दर्ता गराउनुहुने उम्मेदवार। तस्बिर : चन्द्र पन्दाक।

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ ७ गते।  आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यका लागि ताप्लेजुङमा पाँचजना उम्मेदवार एउटै पालिका (स्थानीय तह) का रहेका छन्।  मङ्गलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी (मनोनयन) दर्ता गराउनेमध्ये पाँच जना उम्मेदवार एउटै पालिकाका रहनुभएको हो। 

जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न दलका तर्फबाट उम्मेदवारी दर्ता गराएका १३ मध्ये पाँच जना उम्मेदवार एउटै स्थानीय तह सिरिजङ्घा गाउँपालिकाका रहनु भएको छ।  जसमा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू, नेकपा (एमाले) का क्षितिज थेबे र नेपाली कम्युनिस्ट पार्टीका खेलप्रसाद बुडाक्षेत्री (पराग) रहनुभएको छ।  

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराउनुभएको इन्जिनियर वीरेन्द्र श्रेष्ठ र श्रम संस्कृति पार्टीका सन्तोष राई सिरिजङ्घा गाउँपालिकाकै रहनु भएको छ।  काँग्रेसका उम्मेदवार तुम्याहाङ सिरिजङ्घा गाउँपालिका–७ खेवाङ, एमालेका थेबे र रास्वपाका उम्मेदवार वडा १ सिनाम, नेकपाका बुडाक्षेत्री वडा ५ पेदाङ र श्रम संस्कृतिका उम्मेदवार राई वडा ८ याम्फुदिनका रहनु्भएको छ।

यसैगरी, फु्ङलिङ नगरपालिकाका चार जना रहनुभएकोमा जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदवार बन्नुभएका सूर्य गुरुङ, जनता समाजवादी पार्टीका अरुण सुब्बा लेछर्बो रहनुभएको छ।  त्यस्तै उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन र मंगोल नेसनल अर्गनाइजेसन नेपालका सन्तबहादुर लिम्बू फुङ्लिङको रहनुभएको छ। 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्र थलङ लिम्बू मिक्वाखोला गाउँपालिकाका हुनुहुन्छ।  

त्यसैगरी सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार मुक्साम लाबुङ लिम्बू र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का नरपति पौडेल फक्ताङ्लुङ गाउँपालिकाका रहनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

यता ताप्लेजुङबाट मनोनयन दर्ता गराएका १३ जनाकै उम्मेदवारी कायम रहेको छ।  बुधबारका लागि तोकिएको दावीविरोध वा उजुरीको समयावधिमा कसैको पनि उजुरी नपरेपछि सबैजनाको उम्मेदवारी कायम रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीस विकास श्रेष्ठले जानकारी दिनुभयो। 

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका १३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराउनुभएको हो।  उम्मेदवारी दर्ता गराउने सबैजना पुरुष रहनुभएको छ भने स्वतन्त्र उम्मेदवारका रुपमा कसैले पनि उम्मेदवारी दर्ता गराउनुभएन।