• १२ चैत २०८२, बिहिबार

अदालत प्रवेश गर्न परिचयपत्र अनिवार्य

blog

सप्तरी जिल्ला अदालत राजविराज, सप्तरी । तस्बिर : देवराम यादव

देवराम यादव

सप्तरी, चैत १२ गते । सप्तरी जिल्ला अदालत राजविराजमा सेवा लिन आउने सेवाग्राहीलाई अदालत परिसरभित्र प्रवेश गर्दा परिचयपत्र अनिवार्य गरिएको छ । अदालत प्रशासनद्वारा सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

केही दिनयता अदालत परिसरमा अनावश्यक व्यक्तिहरूको भीड बढ्दै गएपछि सुरक्षा चुनौती बढेकोले यस्तो व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । चोरीजस्ता घटनासमेत बढ्न थालेपछि अदालत प्रशासनले सुरक्षा व्यवस्था कडा बनाउने निर्णय गरेको जनाएको छ ।

चैत १२ गते बिहीवारदेखि लागू हुनेगरी नयाँ सुरक्षा व्यवस्थापत्र जारी गरिएको छ । अदालत प्रशासनद्वारा जारी सूचना अनुसार अदालत परिसरमा प्रवेश गर्न सबैले अनिवार्य रूपमा परिचयपत्र  वा सम्बन्धित कागजात देखाउनु पर्ने जनाएको छ ।

प्रवेशका लागि तोकिएको स्थानबाट मात्र भित्रिन पाइने व्यवस्था गरिएको सूचना जनाएको छ । यस कदमले अनावश्यक भीड नियन्त्रण गर्ने र अदालतको समग्र सुरक्षा सुदृढ बनाउने अपेक्षा गरिएको जारी सूचनामा उल्लेख छ ।

अदालत प्रशासनले सबै सेवाग्राही र सरोकारवालाहरूलाई नयाँ नियमको कडाइका साथ पालना गर्न आग्रह  समेत गरेको छ ।