काठमाडौँ, चैत १२ गते । गृहमन्त्री ओमप्रकाश अर्यालले आफ्नो १९१ दिने कार्यकाल सफलतापूर्वक पूरा गरी आज गृह मन्त्रालयबाट बिदाइ हुनुभएको छ ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले आजै पद तथा गोपनीयताको सपथ लिएसँगै शुक्रबार नयाँ सरकार गठन हुने तयारीका बीच मन्त्री अर्यालले पदबाट बिदा लिनुभएको हो ।
मन्त्रालयमा आज आयोजित विशेष बिदाइ समारोहलाई सम्बोधन गर्दै मन्त्री अर्यालले जेनजी जनआन्दोलन पछिको असामान्य र चुनौतीपूर्ण अवस्थामा जिम्मेवारी सम्हालेको स्मरण गर्नुभयो । उहाँले आफ्नो कार्यकालमा शान्तिसुरक्षाको सामान्यीकरण, सुशासनको सुदृढीकरण र स्वच्छ, निष्पक्ष एवं भयरहित वातावरणमा ऐतिहासिक निर्वाचन सम्पन्न गर्नु नै मुख्य उपलब्धि रहेको बताउनुभयो ।
“निर्वाचन हुने वा नहुने भन्ने आशङ्काबीच हामीले प्रशासनिक समन्वय र सुरक्षा तयारीमार्फत निर्धारित समयमै निर्वाचन सम्पन्न गर्यौं”, मन्त्री अर्यालले भन्नुभयो, “यसबाट संविधान सही बाटोमा आएको छ र यसको सम्पूर्ण श्रेय आमनागरिक, सुरक्षाकर्मी र कर्मचारीको सामूहिक प्रयासलाई जान्छ ।”
उहाँले आफ्नो कार्यकालमा भएका मुख्य कार्यलाई मन्त्रालयको संस्थागत अभिलेखका रूपमा हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा उहाँले जेनजी आन्दोलनका ४२ जना सुशासन योद्धा र तीन जना प्रहरीलाई सहिद घोषणा गरिएको, घाइतेको वर्गीकरण गरी जीविकोपार्जन भत्ताको व्यवस्था गरिएको र आन्दोलनमा क्षतिग्रस्त भएका ४६५ सरकारी कार्यालयको पुनर्निर्माण गरी सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
समारोहमा गृहसचिव राजकुमार श्रेष्ठले मन्त्री अर्यालको नेतृत्वमा मन्त्रालयले छोटो अवधिमा दुई दर्जनभन्दा बढी कानुन तर्जुमा तथा परिमार्जन गर्न सफल भएको र सुरक्षा निकायको मनोबल उच्च बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै उहाँको कार्यशैलीको प्रशंसा गर्नुभयो ।
मन्त्री अर्याल २०८२ भदौ ३० गते गृहमन्त्री नियुक्त हुनुभएको थियो । उहाँले १९१ दिने कार्यकालमा विपद् व्यवस्थापन, मिटरब्याज पीडितको समस्या सम्बोधन र नागरिकता प्राप्तिमा सहजताजस्ता जनपक्षीय कार्यसम्पादन गर्नुभएको मन्त्रालयले जनाएको छ । रासस