• ११ पुस २०८२, शुक्रबार

‘लेखिनु पर्छ भोगाइका कथा’

blog

बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौँमा आयोजित उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीलगायत अन्य सहभागी । तस्बिर : कविन अधिकारी

काठमाडौँ, पुस ११ गते । प्रधानमन्त्री सुशीला कार्कीले सरकारले जति काम गरे पनि बाहिरबाट आलोचना मात्रै हुने गरेको बताउनुभएको छ । बाह्रखरी मिडियाद्वारा बिहीबार काठमाडौँमा आयोजित ‘डिसहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा उहाँले बाहिरकाले काम गर्दै नगरेको मात्र देख्ने बताउनुभयो । “सबै कुरा एकै पटक हुनु पर्छ भन्ने आशा मात्र राख्छन्,” प्रधानमन्त्री कार्कीले भन्नुभयो, “अहिले हामी अचानो जस्तो पो भएछौँ । सबैले आजै छोड् भन्छन् । जेनजीले पनि आजै छोड्, भोलि नै छोड् भन्छन् ।”

प्रधानमन्त्री कार्कीले भन्नुभयो, “छोड् भन्दैमा छोडेर हिँड्यो भने पनि भोलि तिमीहरूको औकात छोडेर हिँड्ने रहेछ भनिहाल्छन् ।” उहाँले थप्नुभयो, “यहाँ कथाकारहरू हुनुहुन्छ, हाम्रो कथा पनि लेख्नुस् । मेरो, गृहमन्त्री र अर्थमन्त्रीको पनि कथा लेख्नुस् ।”

प्रधानमन्त्री कार्कीले जेनजी सहिद, उनीहरूका प्रत्येक परिवारको अलग अलग कथा भएको बताउनुभयो । “हरेकको कथा बेग्लै छ । जे देख्छौँ र भोग्छौँ, त्यही कथा हो,” उहाँले भन्नुभयो, “देखेको र भोगेको विषयमा कथा लेखिएको हुन्छ । दुःख, सुख, मजाक लेखिएको हुन्छ । जेनजीको परिवारसँग भने भोगाइको कथा छ ।”

कार्यक्रममा शिवराज शाहीको कथा ‘एक मन्ठ एक देउता’ ले बाह्रखरी कथा प्रतियोगितामा पहिलो पुरस्कार पाएको छ । बाह्रखरी मिडियाले बाह्रखरी कथा प्रतियोगिताको सातौँ संस्करण ‘डिसहोम बाह्रखरी कथा प्रतियोगिता–२०८२’ को नतिजा सार्वजनिक गरेको हो । पहिलो स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ । उत्कृष्ट कथा घोषणा समारोहमा प्रधानमन्त्री सुशीला कार्कीले लेखक शाहीलाई नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गर्नुभयो । 

प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बिचमा’ शीर्षक कथा दोस्रो भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो । 

यस्तै इन्द्रप्रसाद गोतामे (जगतजङ्ग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तेस्रो भएको छ । लेखक गोतामेलाई ६० हजार नगद, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो । पहिलो, दोस्रो र तेस्रो स्थान हासिल तीन कथाका कथाकारलाई प्रधानमन्त्री कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधान सम्पादक प्रतीक प्रधान, विशेष सम्पादक हरिबहादुर थापा, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिस मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले सम्मान गर्नुभयो ।

कार्यक्रममा निर्णायक समूहका संयोजक अशेष मल्लले विजेता घोषणा तथा पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिले साहित्यकारहरूले सम्मानित भएको महसुस गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको यो उपस्थितिले साहित्यको महत्व उजागर गरेको छ । साहित्यकारहरूले सम्मानित भएको महसुस गरेका छन् ।” 

त्यस्तै साहित्यकार सम्राट उपाध्यायले साहित्यको मोह र लत बेग्लै प्रकारको हुने बताउनुभयो । साहित्यप्रतिको मोहकै कारण अमेरिका पुगेर पनि आफू साहित्यमै केन्द्रित भएको उहाँको भनाइ थियो । साहित्यकारको माया र सम्मानका लागि प्रधानमन्त्री कार्की बाह्रखरी कथा प्रतियोगिताको कार्यक्रममा सहभागी भएको भन्दै बाह्रखरी मिडियाका प्रधान सम्पादक प्रतीक प्रधानले उहाँको सहभागिता साहित्यप्रतिको ठुलो सम्मान भएको बताउनुभयो । 

कार्यक्रममा बाह्रखरी उत्कृष्ट २५ कथाको सँगालो ‘बाह्रखरी उत्कृष्ट कथा–२०८२’ पुस्तक लोकार्पण पनि गरिएको थियो । ‘बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८२’ मा उत्कृष्ट २५ कथाका कथाकारमा अनिता कोइराला, अनिता पन्थी, अमित घिमिरे, अविनाश भट्टराई, इन्द्रप्रसाद गोतामे (जगतजङ्ग), उमा शर्मा, उमेश श्रेष्ठ, ऋतेश गुरुङ, कृष्णराज सर्वहारी, चेतनाथ आचार्य, जमुना भट्टराई, टीकाराम पोखरेल, दामोदर ढुङ्गेल, प्रकाशकुमार शर्मा, प्रज्ञा निरौला, भोगेन्द्र लिङ्देन, मन्दिरा मधुश्री, लक्ष्मण सिटौला, वसन्तबायुङ राई (नाम्दोचा), विष्णु एस राई, शिवराज शाही, शेखर दहित, सीता पाण्डे, हरिबोल काफ्ले र डा. हिमलाल श्रेष्ठ हुनुहुन्छ । तीमध्ये २२ कथाकारलाई सात हजार नगदसहित सम्मान गरिएको थियो ।