सिराज खान
नेपालगन्ज, माघ ८ गते । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि बाँकेबाट उम्मेदवारी दिएकाहरुमध्ये अधिकांश नयाँ र युवा उम्मेदवार रहेको पाइएको छ । यसअघिका निर्वाचनमा अधिकांश पुराना तथा पटक–पटक उम्मेदवार बनेकाहरुको वर्चस्व रहने यस जिल्लामा यस पटक केहीलाई छोडेर अधिकांश उम्मेदवार नयाँ र युवा रहेका छन् ।
ठुला दलहरुमध्ये नेकपा एमालेबाट पूर्वमन्त्री मोहम्मद ईश्तियाक राई र निवर्तमान सांसद सूर्य ढकाल पुराना उम्मेदवार हुनुहुन्छ भने अन्य अधिकांश उम्मेदवार नयाँ र युवानै छन् । एमालेबाट राईले क्षेत्र नम्बर २ र ढकालले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएको छ ।
जिल्लाका तीनवटा निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका ६१ जनामध्ये अधिकांश उम्मेदवार युवा र नयाँ रहेकोले यस पटक कडा प्रतिस्पर्धा हुने आशा गरिएको छ ।
नेपाली कांग्रेसले तीनवटै क्षेत्रमा नयाँ उम्मेदवारलाई अवसर दिएको छ । कांग्रेसबाट क्षेत्र नम्बर १ मा नारायण गौडेल, २ बाट सुधान्सु कोइराला र ३ बाट अमरसिंह पुन मैदानमा हुनुहुन्छ ।
नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै क्षेत्रमा युवा र नयाँ उम्मेदवार बनाएको छ । सो पार्टीले क्षेत्र नम्बर १ बाट नरेन्द्र पाण्डे, २ बाट दिपेन्द्र विष्ट र ३ बाट दिपक जिएम गरेर युवा र नयाँलाई अवसर दिएको छ ।
यसैगरि एमालेले पनि क्षेत्र नम्बर ३ बाट युवा सुमन मल्ललाई उम्मेदवार बनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि क्षेत्र नम्बर १ बाट प्रदिप साह, २ बाट ऋषिराज देवकोटा तथा ३ बाट तारकसिंह थारु गरेर नयाँ र युवालाई मिलाएर उम्मेदवार बनाएको छ ।
नयाँ पार्टी मानिने राष्ट्रिय स्वतन्त्र पार्टीले पनि दुईवटा क्षेत्रमा नयाँलाई रोजेको छ भने एक क्षेत्रमा गत निर्वाचनका उम्मेदवारलाई अवसर दिएको छ । सो पार्टीबाट क्षेत्र नम्बर १ मा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बनेका सुरेश चौधरी, क्षेत्र नम्बर २ मा युवा विवेक श्रेष्ठ र ३ बाट दलित अभियन्ता खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।
यस्तै जनता समाजवादी पार्टी नेपालले पनि नेपालगन्जका निवर्तमान उपमेयर कमरुद्दीन राई, सूर्यलाल यादव र बाबु खाँ पठानलाई टिकट दिएर नयाँ उम्मेदवार बनाएको छ ।
यस पटकको निर्वाचनमा प्रतिस्पर्धा गरिरहनुभएका मध्ये एमालेका पूर्वमन्त्री राई, पूर्वसांसद ढकाल र मल्ल, कांग्रेसका कोइराला, गौडेल र पुन, नेपाली कम्युनिष्ट पार्टीका पाण्डे, बिष्ट र जिएम, रास्वपाका श्रेष्ठ र सुनार, राप्रपाका देवकोटा र थारु तथा लोकतान्त्रिक प्रगतिशिल पार्टीका कृष्णा केसी नमुना र जनता समाजवादी पार्टी नेपालका राई निकै चर्चित र प्रतिस्पर्धा गर्ने उम्मेदवार मानिएका छन् ।