• ७ माघ २०८२, बुधबार

भोट माग्न झुटको सहारा लिनु पर्दैनः अध्यक्ष ओली

blog

घरदैलोमा भोट माग्नुहुँदै अध्यक्ष केपी शर्मा ओली ।

बिष्णुप्रसाद पोखरेल

दमक, माघ ७ गते । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासँग भोट माग्न आफूहरूले झुटको साहारा लिनु नपर्ने बताउनुभएको छ । 

उहाँले नीति, कार्यक्रम र विचारले स्पष्ट भएर जनताको घरदैलोमा गएर जनताहरूको भावाना सुन्न आवश्यक रहेको भन्दै यस्तो बताउनुभएको हो । झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहनुभएका अध्यक्ष ओलीले आफूहरूले गरेका विकासका काम, सुरु भएर अधुरो रहेका निर्माणको काम, विभिन्न पूर्वाधारको विषयमा जनतालाई बुझाउन आग्रह गर्नुभयो । 

“मलाई लाग्छ यहाँका जनताले आफ्नो अभिमत विकास र निर्माणको पक्षमा जाहेर गर्नुहुने छ” उहाँले भन्नुभयो । विकासका कुरा, निर्माणका कुरा र विचारका कुरा गर्दा अहिले सामाजिक र भौतिक रूपमा नै आक्रमण हुने त्रासका कारण बोल्न डराउनु पर्ने अवस्था आएको भन्दै उहाँले थप्नुभयो, “विचारविहीनहरूले विचार भएकाहरूमाथि आक्रमण गर्ने क्रम देखिएको छ, यसलाई निस्तेज पार्नुपर्छ ।” 


प्रजातन्त्रिक अभ्यास सबैले गर्न पाउने र उम्मेदवार बन्न पाउने अधिकार संविधानले दिएकाले स्वच्छ प्रतिस्पर्धा गर्न सबैलाई उहाँले आग्रह गर्नुभयो । “अवाञ्छित हर्कत तथा गतिविधिहरू भइरहेको सुन्नमा आएको छ, यस्तो गतिविधि रोकिनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो । 

सोमबार झापा आउनुभएका ओली दमकमा पार्टीका नेता तथा कार्यकर्ता र सर्वसाधरणसँग भेटघाटमा व्यस्त रहनुभएको छ । निर्वाचन क्षेत्रमा पर्ने दमक, कमल, गौरादह र गौरीगन्ज पालिकाका पार्टीका सबै कमिटीका पदाधिकारी तथा सदस्यहरू, सर्वसाधरण मतदातासँग संवाद गर्दै आउनुभएको एमालेका केन्द्रिय सदस्य इन्द्र भण्डारीले बताउनुभयो । अध्यक्ष ओली केहीदिन झापामै रहनु हुने उहाँले बताउनुभयो ।