• १७ पुस २०८२, बिहिबार

वर्ष २०२५ लाई फर्केर हेर्दा

कलाकार चलेको वर्ष

blog

काठमाडौँ, पुस १७ गते । पछिल्ला एक/ दुई वर्ष व्यावसायिक हिसाबले बलिउडका लागि राम्रो ठहरिएको छ । अझ सन् २०२५ पछिल्लो वर्षभन्दा राम्रो वर्ष साबित भएको छ । यो वर्ष बलिउडका चलचित्र ‘ग्राफ’ पनि उच्च रह्यो । सन् २०२५ मा चलचित्रको कथाले भन्दा कलाकारले चलचित्रलाई चलाइदिए । बलिउडमा रोनाधोना, एक्सनभन्दा पनि फर्मुलाले भरिएका चलचित्र मन पराउन थालिएको छ । वर्षभरि प्रदर्शनमा आएका धेरै चलचित्रले उल्लेखनीय आम्दानी गरे । तीमध्ये सैयारा, तेरे इश्क में, धुरन्धर, छावा र कान्तरा च्याप्टर–१ उच्च आम्दानी गर्ने चलचित्र बने ।

वर्षको सुरुमा प्रदर्शनमा आएको चलचित्र ‘छावा’ ले विश्वभर करिब ७९७ करोड कमाएको थियो । चलचित्रको कथा र भावुक शैलीलाई दर्शकले रुचाएका छन् । सन् २०२५ जुलाईमा प्रदर्शनमा आएको चलचित्र ‘सैयरा’ सरप्राइज हिट साबित भयो । चलचित्रले विश्वभर ५७९ करोड कमाइ गरेको थियो । किशोरावस्थाको प्रेमकथामा केन्द्रित यो चलचित्रले आहान पाण्डे र अनित पड्डा जस्ता नयाँ कलाकार प्रमुख भूमिकामा हुनुहुन्थ्यो । यस चलचित्रले नयाँ कलाकारको अभिनय र मायाप्रेमका चलचित्र पनि चल्छ भन्ने साबित गरिदियो ।

सन् २०२५ को अन्त्यतिर प्रदर्शनमा आएको चलचित्र ‘धुरन्धर’ ले सबैभन्दा बढी चर्चा पायो । यस चलचित्रले विश्वभर ११ सय करोड कमाइसकेको छ । यसको कमाइ अझै रोकिने सङ्केत देखिँदैन । यी तीन चलचित्रबाहेक यो वर्ष ‘महावतार नरसिंह’, ‘वार–२’, ‘सितारा जमिन पर’ र ‘रेड–२’ जस्ता चलचित्र पनि उत्कृष्ट ठहरिए । वार–२’ ले ३५१ करोड कमाएको थियो भने ‘महावतार नरसिंहा’ ले एनिमेटेड फिल्ममा कीर्तिमान बनाएको थियो । चलचित्रले विश्वव्यापी रूपमा ३२६ करोडको व्यापार गरेको थियो । ‘सितारे जमीं पर र ‘रेड–२’ ले २४० देखि तीन सय करोडको दायरामा स्थिर व्यापार गरेको थियो ।

यो वर्ष साउथका धेरै चलचित्रले बलिउडमा राम्रो प्रभाव छाड्न सफल भएका छन् । ‘कान्ताराः ए लिजेन्ड च्याप्टर–१’ ले विश्वव्यापी रूपमा करिब नौ सय करोड कमाएको थियो । यसबाहेक कुली, लोका, एल–२ इम्पुरान र थुडाराम जस्ता चलचित्रले पनि राम्रो आम्दानी गरेका थिए ।

नयाँ वर्षमा सिक्वेलको बाढी

सन् २०२६ मा बलिडमा धेरै चलचित्र सिक्वेलका रूपमा प्रदर्शनको तयारीमा छन् । यसमा कमेडीदेखि एक्सन–थ्रिलरसम्मका चलचित्र रहेका छन् । बलिउडमा अहिले सिक्वेलको जमाना चलिरहेको छ । २०२५ मा धेरै चलचित्रको सिक्वेल प्रदर्शनमा आए । तीमध्ये केही सफल केही असफल रहे । सिक्वेल चलचित्रको शृङ्खला आगामी वर्ष अर्थात् २०२६ मा पनि जारी रहने छ । आउने वर्षमा धेरै सिक्वेल प्रदर्शनको तयारीमा छ । सन् २०२६ मा चलचित्र ‘बोर्डर–२’ बाट सिक्वेल चलचित्रको शृङ्खला सुरु हुँदै छ । यो सन् १९९७ मा प्रदर्शन भएको चलचित्र ‘बोर्डर’ को अर्को भाग हो ।

सन् २०१४ मा प्रदर्शनमा आएको रानी मुखर्जी अभिनीत चलचित्र ‘मर्दानी’ को अर्को भागका रूपमा मर्दानी–३ पनि प्रदर्शनको तयारीमा रहेको छ । त्यस्तै ‘धुरन्धर’ ले चलचित्रको भाग–२ को घोषणा गरिसकेको छ । चलचित्र मार्च १९ तारिकमा प्रदर्शन हुने तय भएको छ । सन् २०२६ मा अजय देवगन फेरि विजय सालगाउँकर बनेर आफ्नो परिवारको सुरक्षा गर्न तयारीमा छन् । चलचित्रको तेस्रो भाग ‘दृश्यम–३’ अक्टोबर २, २०२६ मा प्रदर्शन हुँदै छ ।