राधा लुइटेल
फिदिम, माघ ८ गते । पाँचथर प्रहरीले एउटा सार्वजनिक बसबाट नेपालमा बिक्रीका लागि प्रतिवनध लगाइएको सिक्किम मदिरासहित एक जनालाई पक्राउ गरेको छ ।
मेची राजमार्गको पाँचथर खण्डअन्तर्गत फिदिम नगरपालिका-४, जोरसाल नजिकैबाट ५० कार्टुन मदिरासहित एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
काठमाडौँबाट ताप्लेजुङतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख. ५६१९ नम्बरको यात्रुबाहक बसमा लुकाएर लैजाँदै गरेको अवस्थामा उक्त मदिरा बरामद गरिएको पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिनुभयो ।
उहाँका अनुसार अवैध मदिरा लुकाइ–छिपाइ ल्याइएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले चेकजाँच गर्ने क्रममा उक्त मदिरा पक्राउ गरिएको हो ।
मदिरासहित पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी ३६ वर्षीय शङ्कर प्रसाईंलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कर्णको भनाइ छ ।
सिक्किमे ब्रान्डको उक्त मदिरा ५५ कार्टुनमा नौ हजार ६ सय ६ बोतल छ । जसको कम्पनीले तोकेको बजार मूल्य दुई लाख १४ हजार पर्ने प्रहरीले जनाएको छ ।
पक्राउ परेका प्रसाईं र बरामद मदिरालाई कानुनी कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय भद्रपुर, झापामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । प्रहरीले अवैध मदिराको ओसारपसार नियन्त्रणका लागि निगरानी र चेकजाँचलाई निरन्तरता दिने जनाएको छ ।