प्रविधिको तीव्र विकाससँगै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) ले मानव जीवनका हरेक क्षेत्रमा हस्तक्षेप गरिरहेको छ । विशेष गरी कला र सङ्गीतको क्षेत्रमा एआईको प्रवेशले एउटा नयाँ बहस छेडिदिएको छ । हिजोआज सामाजिक सञ्जाल र युट्युबमा यस्ता गीतहरू छ्यापछ्याप्ती सुनिन्छन्, जसलाई सुनेर यो मानवले गाएका हुन् कि मेसिनले भनेर छुट्याउनै कठिन भइसकेको छ ।
तर के एआईले सिर्जना गरेको धुनलाई वास्तवमै ‘सङ्गीत’ मान्न सकिन्छ ? यो प्रश्न अहिले विश्वभरका सङ्गीतकर्मी र कलाप्रेमीमाझ पेचिलो बनेको छ । एआईको सबैभन्दा ठुलो सामथ्र्य यसको गति हो । एउटा सङ्गीतकारलाई शब्द कोर्न, लय हाल्न र त्यसलाई स्टुडियोमा रेकर्ड गरेर पूर्णता दिन हप्तौँ वा महिनौँ लाग्न सक्छ । एआईले केही सेकेन्डको निर्देशनका भरमा पूर्ण गीत तयार पारिदिन्छ । यसले गर्दा आर्थिक अभावका कारण स्टुडियो जान नसक्ने वा सौखका लागि सङ्गीत बनाउन चाहनेलाई ठुलो राहत मिलेको छ । मानौँ, एउटा रचनाकारले गायकबिना नै आफ्नो शब्दलाई स्वर र सङ्गीत दिन सक्छ । यो पहुँचको हिसाबले क्रान्तिकारी देखिए पनि यसको गुणस्तर र गहिराइमा भने ठुलो खाडल छ । सङ्गीत केवल धुन, ताल र शब्दको संयोजन मात्र होइन, यो त हृदयको संवेदना, भोगाइ, पीडा र आनन्दको अभिव्यक्ति हो । एउटा सङ्गीतकारले कुनै विशेष मुडमा डुबेर, आफ्ना व्यक्तिगत अनुभवलाई नोटमा उतार्छ । सङ्गीतमा हुने त्यो ‘ह्युमन टच’ वा मानवीय संवेदना नै हो जसले स्रोताको मन छुन्छ ।
यसको विपरीत, एआईले लाखौँ पुराना डाटालाई विश्लेषण गरेर एउटा नयाँ धुन ‘जेनरेट’ मात्र गर्छ । एआईसँग एल्गोरिदम छ, तर अनुभूति छैन । यसले सिर्जना गरेका गीतहरू सुन्दा प्राविधिक रूपमा सही सुनिए पनि तीभित्र मानवीय ‘प्यासन’ र आत्मिक गहिराइ महसुस हुँदैन । मेसिनले शब्द त बनाउला तर त्यो शब्द पछाडिको आँसु वा मुस्कानलाई कहिल्यै महसुस गर्न सक्दैन ।
आइटी तथा एआई प्राविधिक करुण थापाका अनुसार कुनै समय विभिन्न सङ्गीतका वान टेक हुन्थ्यो त्यसपछि ट्रयाकको चलन आयो । त्यसैले सङ्गीतमा पनि नयाँ–नयाँ प्राविधिक कुरा आइरहन्छन् । कुनै समय किबोर्डको जमाना खुब चलेको थियो । किबोर्डबाट नै अन्य धुनलाई चलाएर ‘आगो लाग्यो दिलैमा दमकल बोलाइदेउ’ बोलको गीत बनाएको उहाँ सम्झनुहुन्छ । “त्यसबेला ड्रम, गितार, प्यानो भ्वाइलेन यी सबैको काम किबोर्डबाट नै हुन्थ्यो,” उहाँले भन्नुभयो । त्यसैले पनि प्रविधि बिस्तारै विकासको क्रममा रहेको उहाँले बताउनुभयो । एआई पनि यस्तै माध्यम बनेको छ । ‘मैले करिब ३५ सय गीत बनाइसके । मेरो गीतहरू त्यतिकै थन्केर बसेका थिए । एआईले हाम्रा गीतहरूलाई आफ्नो भावना व्यक्त गर्न मद्दत गरेको छ । एआईलाई राम्रो र नराम्रो दुवै तरिकाले प्रयोगमा ल्याउन सकिन्छ,’ उहाँले भन्नुभयो, “तर हाम्रो देशमा यसको सही सदुपयोग हुन सकेको छैन । यहाँ जसले सङ्गीत नै बुझेका छैनन् । उनीहरूलाई एआईबाट गीत बनाउनु भनेको एउटा ‘प्रम्ट’ दिएर भइहाल्छ भन्ने लाग्छ ।’ अहिलेका गायक तथा सङ्गीतकारलाई एआईले अवश्य नै असर पु¥याएको स्वीकार्दै उहाँ थप्नुहन्छ, गायक तथा सङ्गीतकारले एआईको प्रयोग गर्दा धेरै कुराको ध्यान पु¥याउनु जरुरी हुन्छ । एआईबाट धेरै असर पर्ने भनेको गायक तथा बाध्यबाधकलाई हो । एआईबाट बज्ने धुन र गाउने गीत तथा मानिसले बजाउने धुन र गीतहरूमा आकाश पातालको फरक पाइने उहाँले बताउनुभयो । उहाँका अनुसार यस्तो असरबाट जोगिन एआईलाई प्रयोग गर्दा यसबारे विस्तृत रूपमा जानेर प्रयोग गरे राम्रो होला ।
कला सिक्न र त्यसमा दक्षता हासिल गर्न बर्सौंको तपस्या चाहिन्छ । एउटा गायक वा बादकले आफ्नो स्वर र हातलाई माझ्न जुन मेहनत गर्छ, त्यही सङ्घर्षले नै कलालाई मूल्यवान् बनाउँछ तर एआईले ‘एक क्लिक’ मा सबै कुरा पस्किदिँदा कलाकारको सिप र समर्पणको मूल्य घट्ने जोखिम बढेको छ । बजार जब
‘उत्पादनमुखी’ मात्र बन्छ, तब गुणस्तर र मौलिकताभन्दा ‘द्रुत उत्पादन’ ले प्राथमिकता पाउँछ । यसले गर्दा लामो समयदेखि साधना गरेका वास्तविक कलाकारको रोजगारी र पहिचान सङ्कटमा पर्न सक्छ । सङ्गीतलाई डाटाको प्रवाह बनाइँदा सांस्कृतिक आत्मा र मौलिकता हराउँदै जाने डर हुन्छ । मानवीय आत्मा नभएको सिर्जनालाई के वास्तवमै कला भन्न मिल्छ ? एआईले गर्ने सिर्जना वास्तवमा अरूका पुराना कामहरूको मिश्रण मात्र हो । यसले सिर्जनात्मक चोरी र कपिराइटका मुद्दालाई पनि जटिल बनाइदिएको छ । अर्कोतर्फ, एआई निर्मित गीतहरूले पछिल्लो पुस्तालाई कस्तो प्रेरणा देलान् ? सङ्घर्षबिना प्राप्त हुने सफलताले कलाको वास्तविक मर्मलाई नै मार्न सक्छ ।
सङ्गीतकार हरिप्रसाद लम्सालको भनाइ भने केही भिन्न छ । उहाँका अनुसार एआईको प्रयोगबाट मान्छेहरू बढी नै अल्छी हुन थालेका छन् । गीत लेख्ने, सङ्गीत भर्ने र गाउने पनि एआईले नै गरिदिने भइसकेपछि मान्छेको सिर्जनात्मक पाटो एकदमै कमजोर हुँदै गएको छ । अहिले गीत सङ्गीतको बजारमा यो एकदमै ठुलो चिन्ता भएको उहाँको भनाइ छ । अहिले जुन तरिकाले एआईका विकास भइरहेको छ र धेरै गीत प्रस्ट रूपमा एआईले गाउने पनि भएको छ । यसले पनि नेपाली गीत सङ्गीतलाई धेरै असर पार्ने उहाँले बताउनुभयो । एउटा गीत सिर्जना गर्न मान्छे नै नचाहिने भएपछि यो कस्तो विकास हो त, उहाँको प्रश्न थियो । उहाँका अनुसार अघिल्ला दिनहरूमा जुन तरिकाले सङ्गीतकर्मी आफ्नो सिर्जनामा व्यस्त हुन्थे, त्यो व्यस्तता पनि कम हुने भयो । एउटा गीत तयार पार्न लेखक, सङ्गीतकार, कम्पोजर, गायक/गायिका र प्राविधिकसहित ठुलो जनशक्तिको मेहनत हुन्छ । विशेष गरेर एआईले गर्दा अहिले नेपाली गीत सङ्गीतमा धेरै सङ्गीतकर्मीको रोजीरोटी नै खोसिएको जस्तो भएको छ, उहाँले भन्नुभयो । गीतसँगै उनीहरूको रोजीरोटी पनि जोडिएको हुन्छ । यो सबै काम कुनै एउटा टुलले गरिदिँदा सबैको काम जोखिममा पर्न सक्छ, उहाँले थप्नुभयो । यस्तो कुरामा पनि एआईले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा धेरै नै असर पारेको उहाँ स्वीकार्नुहुन्छ । उहाँले एआई गीतमा भाषा र उच्चारण शुद्धता अभाव रहने भएकाले नेपाली सङ्गीतमा मौलिकता र सौन्दर्य जोगाउन कठिन हुने बताउनुभयो । यद्यपि दर्शक मनोरञ्जनमुखी भएकाले एआई गीतको चर्चा बढ्न सक्ने उहाँको भनाइ छ । उहाँका अनुसार, हामीले प्रविधिको विकासलाई नकार्न सकिँदैन । त्यो विकाससँगै हामी पनि त्यसमा अव्यस्त भएर आफ्ना सिर्जनालाई कसरी अझै राम्रो गर्न सकिन्छ भन्ने कुरामा लाग्न सकिन्छ भन्ने हिसाबले यसलाई प्रयोग ग¥यो भने त्यो राम्रो हो ।
एआईले मान्छेको जस्तो मर्मस्पर्शी गीत चाहिँ बनाउन नसक्ने गायिका अनुष्का पाठक बताउनुहुन्छ । उहाँका अनुसार एआईबाट तयार गरिएका सङ्गीतमा भावनात्मक गहिराइ हुँदैन । मानिसको पृथक् व्यक्तिगत शैली र कलात्मक अभिव्यक्ति एआईमा खोजेर कहाँ पाउँछ र ? उहाँले आजकाल एआईबाट बनाएको गीतहरू एउटा गीत अर्कोसँग मिलेको जस्तो लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एआई गीतमा सङ्गीत महसुस नै हुँदैन ।” यो त मान्छे एकदम राम्रो छ तर व्यवहार छैन भने कुरूप लाग्ने कुरा जस्तो भयो । नयाँ प्रविधिको प्रयोगले मानिसहरूलाई केही समयका लागि आकर्षित गरे पनि लामो समयसम्म टिकिराख्न नसक्ने उहाँको भनाइ थियो । उहाँले एआई गीतमा भाषा र उच्चारण शुद्धता अभाव रहने भएकाले नेपाली सङ्गीतमा मौलिकता र सौन्दर्य जोगाउन कठिन हुँदै गएको धारणा व्यक्त गर्नुभयो । यद्यपि हाम्रा दर्शक मनोरञ्जनमुखी भएकाले एआई गीतको चर्चा झन् झन् बढ्न सक्ने उहाँको भनाइ छ ।
एआई एउटा राम्रो सहयोगी औजार हुन सक्छ, तर यो कहिल्यै पनि मानवको विकल्प हुन सक्दैन । सङ्गीत एउटा जीवित कला हो, जुन मानिसको मुटुको धड्कन र जीवनको उतारचढावबाट जन्मन्छ । एआईले धुन त बनाउन सक्छ तर त्यो धुनमा प्राण भर्न सक्दैन । प्रविधिलाई आत्मसात् गर्दै गर्दा हामीले कलाको त्यो मानवीय सुगन्धलाई जोगाउनु आजको मुख्य चुनौती हो । अन्ततः मेसिनले डाटा दिन्छ तर मानवले मात्र सन्देश र संवेदना दिन सक्छ ।