हरिकृष्ण शर्मा
मुक्तिनाथ (मुस्ताङ), माघ ७ गते । गतवर्ष माघ महिनामै मुस्ताङको घरपझोङ गाउँपालिका–५, सम्ले गाउँस्थित ढुम्बा ताल जमेर बरफ भएको थियो । अत्यधिक चिसोका कारण मुस्ताङ प्रवेश गरेका पर्यटकलाई समेत तालसम्म पुग्न हम्मे–हम्मे हुन्थ्यो ।
यसबर्ष माघ महिनाको पहिलो सातासम्म तालसम्म सहजै पर्यटक पुगेका छन् । जमेर बरफ हुनुपर्ने ताल अहिले निलो रङमा सलल बगेर पर्यटकलाई आर्कषित गरिरहेको छ ।
मुस्ताङको भ्रमणमा निस्किएका पर्यटक, शैक्षिक तथा संघ संस्थाको भ्रमण टोलीको रोजाइमा ताल परेपछि माघ महिनामा पनि चहल–पहल देखिएको छ । बेनी–जोमसोम सडकखण्ड हुँदै मुस्ताङ प्रवेश गरेका पर्यटक जोमसोमदेखि ५ किलोमिटर पश्चिममा पर्ने ढुम्बा तालमा दैनिक डेढ सयभन्दा बढी जाने गरेको वडा अध्यक्ष प्रदिप थकालीले बताउनुभयो ।

वडाध्यक्ष थकाली भन्नुहुन्छ, ‘‘यसवर्ष ताल जमेको छैन, जाडो पनि पहिलाजस्तो धेरै नभएकाले पर्यटकको आगमन भइरहेको छ ।’’ वडाध्यक्ष थकालीका अनुसार तालसम्म पुगेका स्वदेशी तथा विदेशी पर्यटकले ३०–५० रूपियाँ शुल्क तिरेर अवलोकन गर्ने गरेको बताउनुभयो ।
नीलगिरि हिमालको फेदमा समुन्द्री सतहदेखि दुई हजार ८३० मिटरको उचाइमा अवस्थित ढुम्बाताल उपल्लो मुस्ताङको कोरला नाकाको भ्रमणमा जाने पर्यटकको आकर्षणको केन्द्र बनेको छ । जाडोयाममा अधिकांश पर्यटक प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरसम्म पुगेर फर्किदा तालको अवलोकन गर्ने गरेका छन् ।
सिजनमा दैनिक ५ सयसम्म पर्यटक आउने गरे पनि बर्खाको समयमा सङ्ख्या न्युन हुने गरे पनि यसवर्ष जाडोयाममा चहलपहलले पर्यटन व्यवसायी उत्साहित छन् । १० मिटर गहिरो रहेको ताल एक सय ३० मिटर चौडा, एक सय ६० मिटर लामो रहेको छ ।
बौद्ध धर्मगुरु पद्म सम्भवको पाँच रत्न प्रतिस्थापित गुम्बामा विशेष पूजापाठ हुँदा तालमा माछाको भुरा छाड्ने तथा तालको जलले पूजा गर्ने गरिन्छ । ढुम्बा ताल कुछ्प तेर्गा गुम्बा व्यवस्थापन समितिको स्वामित्वमा रहेको छ । ढुम्बा तालको पानीलाई बौद्ध धर्मालम्बीले पवित्र जलको रूपमा बुद्ध मूर्ति अघिल्तिर कचौरामा राखी चढाउने गरिन्छ ।
तालमा बर्सेनि विभिन्न जातका माछा छाडेर सरसफाइसँगै माछाको आहारा र संरक्षणका लागि समेत कर्मचारी राखिएको छ । बौद्ध धर्मालम्बीले तालको पानीले विभिन्न धार्मिक कार्य गर्ने गरेका छन् ।
ताल क्षेत्रमा गाउँपालिका, प्रदेश सरकारसँगै अन्नपूर्ण संरक्षण इलाका कार्यालय जोमसोममार्फत समेत संरक्षणमा सघाउने गरिएको छ । तालको प्रवेशद्वारदेखि फन्को लगायन करिब १० मिनेट लाग्छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले तालले धार्मिक, सांस्कृतिकसँगै पर्यटनलाई जोडेको बताउनुभयो ।

धार्मिक महत्त्व भएकाले पछिल्लो समय तालको पानी जमेर बरफ भएको दृश्य लिने अनुमति भए पनि तालभित्र प्रवेश गरी तस्बिर र भिडियो खिचाउन रोक लगाइएको अध्यक्ष लालचनको भनाइ छ ।
तालको संरक्षणमा कुछ्प तेर्गा गुम्बा तथा स्थानीयसँग मिलेर गाउँपालिकाले समेत विभिन्न काम गरेको छ । जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाका अनुसार सडक सञ्जाल हुँदै मुस्ताङको प्रवेशद्वार घाँसाबाट मुस्ताङ आगमन नौ सय ७५ पर्यटक र बाहिरिएका १४ सय १० जना रहेकोमा मुक्तिनाथ मन्दिरको दर्शन ९ सय २५ जनाले गरेको देखिन्छ ।