• १२ साउन २०८१, शनिबार

भारतीय प्रमको भ्रमण

blog

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध पूर्णिमाको अवसर पारेर लुम्बिनीमा आज (सोमबार) आयोजना हुने मुख्य समारोहमा सरिक हुन नेपालको भ्रमणमा हुनुहुन्छ । एक दिवसीय यो भ्रमणका लागि सबै खालका तयारी पूरा भएका छन् । प्रधानमन्त्री मोदीको यो भ्रमण उहाँ र सिङ्गो भारतले नेपालसँगको सम्बन्धलाई दिएको उच्च महत्वका रूपमा समेत लिनुपर्ने हुन्छ । नेपाल र भारतका राष्ट्रप्रमुख, सरकारप्रमुख तथा उच्चपदस्थ नेतृत्वहरूको पारस्परिक भ्रमण आदानप्रदान दुई मुलुकबीचको गहिरो तथा प्रगाढ सम्बन्धको प्रतीकसमेत हो । 

भारतीय प्रधानमन्त्रीको यस पटकको भ्रमणको अझ धेरै महत्व छ । यो भ्रमणको व्यापक आयामसमेत छ । नेपालका लागि यो भ्रमण अझ महत्वपूर्ण घटनाका रूपमा किन पनि लिन सकिन्छ भने बुद्ध जयन्तीका अवसरमा बुद्ध भूमि लुम्बिनीमा आयोजना हुने मुख्य समारोहमा सहभागी हुन उहाँ आउँदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीको आगमनले बुद्ध जन्भभूमि सम्बन्धमा यसअघिका कतिपय कोणबाट आउने भ्रम सदाका लागि पूर्णविराम लाग्नेछन् । भविष्यमा यस्ता भ्रम तथा विवादको सिर्जना अब कतैबाट हुने छैनन् । त्यसैले प्रधानमन्त्री मोदीको यो भ्रमणको ऐतिहासिक महत्व छ । नेपालको पर्यटन प्रवर्धनमा समेत दूरगामी प्रभाव रहिरहनेछ ।

नेपाल र भारतबीचको सम्बन्ध वर्तमान विश्वका लागि अनुपम भएको तथ्यमा कुनै उदाहरण दिइराख्नु परोइन । राजनीतिकशास्त्रका विद्यार्थीले अध्ययन अनुसन्धान गर्नुपर्दा नै यस्तो सम्बन्ध सायदै विश्वका अन्य कुनै भागमा पाइन सक्ला । धार्मिक, ऐतिहासिक, भाषिक, सांस्कृतिक, आर्थिक, साामाजिकलगायत दैनिक जीवनका धेरै विषयवस्तुमा यी दुई मुुलुकबीच साझा पक्षमा परापूर्वकालदेखि नै सहकार्य, समन्वय तथा सद्भावना कायम हुँदै आएको हो । प्रधानमन्त्री मोदीको यस भ्रमणले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई अझै सौहार्दपूर्ण रूपमा विस्तारित गर्न थप सघाउ पु-याउने विषयमा विश्वस्त हुन सकिने आधार प्रशस्त छन् ।

यी दुई देशबीच आधुनिक व्यापार, व्यवसाय, विद्युत् उत्पादन तथा आदानप्रदान, हवाई मार्ग, रेलमार्गजस्ता अनेक विषयमा भइरहेका सहयोग तथा समन्वयको क्षेत्रलाई अझै विस्तृत तथा विस्तारित गर्ने प्रशस्तै अवसर छन् । सङ्क्षिप्त भए पनि भारतीय प्रधानमन्त्रीको यस पटकको भ्रमणलाई यस अनुकूल ढाल्न सकिए दुवै मुलुकका लागि लाभप्रद हुनेछ । पारस्परिक लाभबाट दुवै देशका नागरिक आर्थिक तथा सामाजिक रूपमा सम्पन्न हुने दिशातिर नेतृत्व अग्रसर हुन आवश्यक छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको हालै सम्पन्न भारत भ्रमणका क्रममा दुई मुलुकबीच विभिन्न योजना, परियोजनालाई संयुक्त रूपमा अगाडि बढाउने विषयमा सहमति भएका थिए । ती विषयका सम्बन्धमा ठोस निष्कर्षमा पु¥याउन यो भ्रमणलाई उपयोग गरिनु महत्त्वपूर्ण छ । सुदूरपश्चिमको दोधारा चाँदनीमा एकीकृत जाँच चौकी तथा सुक्खा बन्दरगाह निर्माणका अतिरिक्त नेपालगञ्जमा एकीकृत जाँच चौकी निर्माण प्रस्ताव विचाराधीन छन् । भारतीय प्रधानमन्त्रीको अहिलेको भ्रमणमा यी विषयलाई निष्कर्षमा पु-याउनु उपयुक्त हुने देखिन्छ । यसैगरी जनकपुर, महेन्द्रनगर, नेपालगञ्ज तथा भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सुविधाजनक सञ्चालनका लागि हवाई रुटको उपलब्धता सम्बन्धमा पनि भारतीय पक्षसँग निष्कर्षपूर्ण वार्ता अहिलेको भ्रमणका पूर्ण कार्यसूची हुनसक्छन् । 

नेपाल र भारतमा हालका दिनमा ऊर्जा शक्तिको माग दिनहुँ उच्चगतिमा बढ्दो छ । हिमालयबाट उत्पन्न सदावहार बगिरहने नदीको देश नेपालको जलशक्तिको प्रयोग गरेर ऊर्जा सङ्कट हटाउन यी दुवै देशको हातेमालो जरुरी छ । यसबाट समग्र दक्षिण एसियाले नै लाभ लिन सक्नेछ । यस दिशामा यी दुवै देशबीच सम्झौतासमेत सम्पन्न भइसकेको पञ्चेश्वरजस्ता बृहत् परियोजनालाई तीव्र गतिमा सञ्चालन गर्नु आवश्यक छ । पश्चिम सेतीले समेत प्राथमिकता पाउनुपर्छ ।

मोदीको यो भ्रमण यसतर्फ पनि उपयोगी हुनसक्छ । प्रधानमन्त्री देउवाले केही दिनअघि मात्र डडेल्धुराको एक कार्यक्रममा भारतीय प्रधानमन्त्रीको भ्रमणमा पश्चिम सेती सम्बन्धमा पनि छलफल हुने जानकारी दिनुभएको तथ्य यहाँ स्मरणीय छ । भारतीय प्रधानमन्त्रीको यस पटकको भ्रमण छोटै भए पनि रचनात्मक बनाउनेतर्फ दुवै पक्षबाट पक्कै पनि प्रयत्न भइरहेको अपेक्षा गर्न सकिन्छ । यो भ्रमणले दुई देशको सम्बन्धलाई अझ उचाइमा पु¥याउन सहयोग पु¥याउनेछ ।